काठमाडौं | निर्वाचन आयोगले छ महिनाभित्र प्रतिनिधि सभा चुनाव गराउन सक्ने तयारी गरेको छ। नयाँ मतदाता नामावली संकलन गरेरै फागुन २१ भित्र चुनाव सम्भव हुने आयोगले जनाएको छ।
निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगसँग पर्याप्त समय छ। ‘फागुन २१ सम्म हिसाब गर्दा करिब ६ महिना समय छ,’ उनले भने, ‘यसअघि पनि १२० दिनभित्रै निर्वाचन सम्पन्न गर्ने अनुभव भएकाले यो अवधिमा चुनाव गर्न नसकिने भन्ने प्रश्नै आउँदैन।’
आयोगका अनुसार मतदाता नामावली संकलन गर्ने निर्णय भए काम सहजै अघि बढाउन सकिन्छ। तर, त्यसका लागि मतदाता नामावली ऐन, २०७३ मा संशोधन आवश्यक छ। मौजुदा ऐनले निर्वाचन मिति घोषणा भएपछि नाम दर्ता गर्न नपाउने व्यवस्था गरेको छ।
घिमिरे भन्छन्, ‘नयाँ पुस्ता—विशेषगरी जेन-जी—को ठूलो हिस्सा अझै मतदाता नामावलीमा छैन। सरकारले ऐन संशोधन गरिदिए हामी नामावली संकलन सुरु गर्छौं र दुई महिनाभित्र अन्तिम नामावली तयार गर्न सक्छौं।’
चुनावका लागि करिब ६५ प्रकारका सामग्री आवश्यक हुने आयोगको अनुमान छ। तर आयोगका अनुसार आवश्यक सामग्री खरिद गर्न ६ महिना पर्याप्त छ।
‘मतपेटिका, स्टेशनरी, मतपत्र छपाइदेखि ढुवानीसम्मका सबै काम डेढ महिनाभित्रै सक्न सकिन्छ,’ घिमिरेले भने, ‘यसअघि पनि यस्तै तरिकाले खरिद र व्यवस्थापन गरेका छौं।’
आयोगले पुराना सामग्री प्रयोग गर्न सक्ने भए पनि योग्य नभएका वस्तु नयाँ खरिद गर्ने तयारी गरेको छ। स्वस्तिक छापजस्ता वस्तु भने नयाँ नै प्रयोग गरिने आयोगको योजना छ।
मन्त्रिपरिषद् विस्तार भएपछि आयोग र सरकारले छलफल गरेर आवश्यक कानुन संशोधन गर्ने तयारी गरेको छ। त्यसपछि नामावली संकलनदेखि सामग्री खरिदसम्मका प्रक्रिया अघि बढाइनेछ।
‘चुनाव गराउन आयोग मात्र होइन, देशकै संयन्त्र लाग्छ,’ घिमिरेले भने, ‘तर तयारी हेर्दा निर्धारित अवधिभित्रै प्रतिनिधि सभा चुनाव गराउन सकिन्छ।’



