हेटौँडा | हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगको परिसरमा अहिले पनि पुरानै दृश्य देखिन्छ। कतै झ्यालका सिसा फुटेका छन्, कतै झाडी उम्रिएका छन्। उत्पादन हलभित्र वर्षौँदेखि नचलेका मेसिनमाथि धुलो जमेको छ। कुनै समय सयौँ कामदारको चहलपहल हुने उद्योगमा अहिले सुनसान छ।
तर यही सुनसान उद्योग फेरि एकपटक सरकारी घोषणाको केन्द्रमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा भइसकेको र केही महिनाभित्र सञ्चालनमा आउने बताएकी छन्। उनको भनाइसँगै करिब २४ वर्षदेखि बन्द उद्योगको साइरन फेरि बज्ने अपेक्षा स्थानीय र पूर्वकर्मचारीमा जागेको छ।
यद्यपि प्रश्न उद्योगको साइरन बज्छ कि बज्दैन भन्नेमा मात्र सीमित छैन। सबैभन्दा महत्त्वपूर्ण उद्योग सञ्चालन भए पनि कति दिन टिक्छ? भन्ने प्रश्न हो।
नेपालमा बन्द भएका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने घोषणा नयाँ होइन। हेटौँडा कपडा उद्योगकै सन्दर्भमा पनि विभिन्न सरकारले पटक–पटक अध्ययन गरे, बजेट घोषणा गरे र सञ्चालनको प्रतिबद्धता जनाए। तर योजनाहरू प्रायः अध्ययन प्रतिवेदन, निरीक्षण र राजनीतिक भाषणमै सीमित भए।
यसपटक सरकारले परीक्षण उत्पादनको तयारी गरेको जनाएको छ। उद्योग मन्त्रालयका अनुसार प्रारम्भिक चरणमा नेपाली सेनामार्फत उत्पादन परीक्षण गर्ने योजना छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको सय दिने उपलब्धिमा समेत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषय समेटिएको छ।
राष्ट्रिय सभाको बैठकमा मन्त्री यादवले उद्योग मर्मतका लागि रकम पुगिसकेको र काम अघि बढेको बताएकी थिइन्।
“कपडा उद्योगका लागि ३३ लाख रुपैयाँ निकासाका लागि लेखी पठाएका थियौँ। रकम उद्योगमा पुगिसकेको छ, मर्मत कार्य पनि अघि बढेको छ,” उनले भनेकी छन्, “केही महिनामै उद्योग सञ्चालनमा आउँछ भन्ने विश्वास दिलाउन चाहन्छु।”
सरकारको दाबी आशाजनक सुनिए पनि उद्योग परिसरको अवस्था भने फरक देखिन्छ।
उद्योगको जिम्मेवारी सम्हालिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी प्रमुख संगीता कुँवरका अनुसार अहिलेसम्म परिसर सरसफाइ गर्नेबाहेक उल्लेखनीय मर्मत कार्य सुरु भएको छैन। उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रतिनिधिले पटक–पटक निरीक्षण भने गरेका छन्।
केही दिनअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्योग परिसर सफा गरेका थिए। उद्योग बन्द भएपछि लामो समयपछि मुख्य भवनको बाहिरी भागसमेत सफा गरिएको थियो।
“उद्योग सञ्चालनको तयारी भएपछि हामीले सरसफाइ सुरु गरेका छौँ,” कुँवर भन्छिन्, “धेरै वर्षदेखि बन्द रहेकाले सबै काम एकैपटक सम्भव हुँदैन।”
पुरानै मेसिन चलाउने कि नयाँ प्रविधि ल्याउने?
उद्योग पुनः सञ्चालनको बहसमा सबैभन्दा जटिल विषय मेसिनको अवस्था हो। करिब साढे दुई दशकदेखि प्रयोग नभएका मेसिन सामान्य मर्मतबाट सञ्चालनमा आउँछन् वा पूर्ण रूपमा नयाँ प्रविधि जडान गर्नुपर्छ भन्नेमा पूर्वकर्मचारीकै मत फरक छ।
उद्योगका पूर्वमेकानिक केशव ढकाल अधिकांश मेसिन अझै प्रयोग गर्न सकिने बताउँछन्। उनका अनुसार केही बुुस, बेयरिङ र पार्टपुर्जा परिवर्तन गरी ओभरहल गरेपछि मेसिन सञ्चालनमा ल्याउन सकिन्छ।
“मेसिनको मुख्य संरचना अझै राम्रो छ,” उनी भन्छन्, “आवश्यक पार्टपुर्जा परिवर्तन गरेर मर्मत गरियो भने उत्पादन लिन सकिन्छ।”
उद्योग सञ्चालनमा हुँदा एउटा मेसिनले प्रतिघण्टा करिब ३० मिटर कपडा उत्पादन गर्ने क्षमता राख्ने उनले बताए।
उद्योग स्थापनाकालदेखि काम गरेका प्रकाश पौडेल पनि अधिकांश मेसिन सामान्य मर्मतबाट चल्न सक्नेमा आशावादी छन्। तर पूर्वकर्मचारी महेश बस्नेत भने पुरानै प्रविधिका भरमा उद्योगलाई प्रतिस्पर्धी बनाउन नसकिने बताउँछन्।
उनका अनुसार उद्योग खोल्नु मात्र सफलता होइन। उत्पादन लागत, कपडाको गुणस्तर, बजार, व्यवस्थापन र नयाँ प्रविधिलाई एकैसाथ सम्बोधन गर्नुपर्छ।
“पुराना मेसिन चलाएर मात्रै अहिलेको बजारसँग प्रतिस्पर्धा गर्न सकिँदैन,” बस्नेत भन्छन्, “नयाँ प्रविधि ल्याउनुपर्छ, दक्ष व्यवस्थापन हुनुपर्छ र उत्पादित कपडाको बजार सरकारले सुनिश्चित गर्नुपर्छ।”
उनले सेना, प्रहरी, निजामती कर्मचारी र सामुदायिक विद्यालयका पोसाक स्वदेशमै उत्पादन गरी सरकारी निकायले अनिवार्य खरिद गर्ने नीति बनाउनुपर्ने बताए।
यही विषय उद्योगको भविष्यसँग प्रत्यक्ष जोडिएको छ। उत्पादन सुरु भए पनि बजार नपाए उद्योग फेरि घाटामा जाने जोखिम रहन्छ। विगतमा कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, बढी उत्पादन लागत र आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसक्नु उद्योग बन्द हुनुका प्रमुख कारण थिए।
सेनाको प्रस्तावमा बजार सुनिश्चित गर्ने योजना
नेपाली सेनाले यसअघि हेटौँडा कपडा उद्योग सञ्चालन गर्न करिब दुई अर्ब रुपैयाँ बराबरको प्रस्ताव सरकारलाई बुझाएको थियो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला गरिएको प्राविधिक अध्ययनले उद्योग चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो।
सेनाको अध्ययनमा सुरुवाती लगानी करिब एक अर्ब ९३ करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख थियो। उद्योग सञ्चालनका लागि सैनिक कल्याणकारी कोष प्रयोग गर्न सकिने र सरकारबाट छुट्टै पुँजी आवश्यक नपर्ने प्रस्तावसमेत गरिएको थियो।
प्रतिवेदनमा सुरक्षा निकाय तथा निजामती कर्मचारीका लागि आवश्यक कपडा उद्योगबाटै खरिद गर्ने बाध्यकारी नीति बने बजारको समस्या नहुने उल्लेख छ।
उद्योगको स्वामित्वमा करिब १६६ रोपनी जग्गा छ। भवन, पानी, विद्युत् र औद्योगिक पूर्वाधार उपलब्ध छन्। कपडा उत्पादनका लागि आवश्यक धेरै कच्चा पदार्थसमेत नेपालमै उपलब्ध हुन सक्ने प्रतिवेदनमा जनाइएको छ।
तर प्रस्ताव तयार हुनु र उद्योग व्यावसायिक रूपमा सञ्चालन हुनु फरक विषय हुन्। उद्योग कसले सञ्चालन गर्ने, व्यवस्थापनको मोडेल के हुने, कर्मचारी नियुक्ति कसरी गर्ने र घाटा भए जिम्मेवारी कसले लिने भन्ने विषय अझै स्पष्ट छैन।
कुनै समय १२ सय जनाको रोजगारी
हेटौँडा कपडा उद्योग २०३२ सालमा स्थापना भएको थियो। २०३५ सालदेखि उत्पादन सुरु गरेको उद्योगको औपचारिक उद्घाटन २०३५ माघ ५ गते भएको थियो।
उद्योगले सुती धागो, कोरा कपडा, रंगीन कपडा, बुट्टेदार र सेतो कपडासँगै नेपाली सेनाका लागि आवश्यक पोसाकसमेत उत्पादन गर्थ्यो। कुनै समय उद्योगमा करिब एक हजार २०० श्रमिक प्रत्यक्ष रोजगारीमा थिए।
उत्पादन राम्रो हुँदा कर्मचारीलाई बोनस वितरण गर्ने अवस्थासमेत थियो। उद्योग सञ्चालन हुँदा हेटौँडाको स्थानीय अर्थतन्त्र, व्यापार र रोजगारीमा उल्लेखनीय योगदान पुगेको पूर्वकर्मचारी सम्झन्छन्।
तर २०४६ सालपछि बढेको राजनीतिक हस्तक्षेप, बन्द–हडताल, कमजोर व्यवस्थापन, पुराना मेसिन, उत्पादन लागत वृद्धि र विदेशी कपडासँगको प्रतिस्पर्धाका कारण उद्योग निरन्तर घाटामा गयो। अन्ततः २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय भयो।
त्यसपछि उद्योग पुनः सञ्चालन गर्ने घोषणा धेरैपटक भए। निजीकरणको प्रयास गरियो, अध्ययन समिति गठन भए, बजेट विनियोजन गरियो र मन्त्रीहरूले निरीक्षण गरे। तर उद्योगको उत्पादन लाइन चलेन।
पूर्वउद्योगमन्त्री अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नविन्द्रराज जोशी र दिलेन्द्रप्रसाद बडूलगायतले उद्योग सञ्चालनको प्रतिबद्धता जनाएका थिए। प्रत्येक सरकारसँग नयाँ योजना आयो, तर उद्योगको सुनसान अवस्था फेरिएन।
अहिले फेरि परीक्षण उत्पादन, मर्मत बजेट र नेपाली सेनाको संलग्नतासहित उद्योग सञ्चालनको चर्चा सुरु भएको छ। यसले आशा जगाएको छ, तर विगतका असफल प्रयासले शंका पनि उत्तिकै पैदा गरेको छ।
हेटौँडा कपडा उद्योगमा फेरि साइरन बज्नु प्रतीकात्मक उपलब्धि हुन सक्छ। तर उद्योगको वास्तविक पुनर्जीवन भने नियमित उत्पादन, गुणस्तरीय कपडा, सुनिश्चित बजार, दक्ष व्यवस्थापन र दीर्घकालीन नीतिबाट मात्र सम्भव हुन्छ।
नत्र केही महिनाका लागि बज्ने साइरन फेरि बन्द हुन सक्छ। त्यसैले अहिलेको मुख्य प्रश्न उद्योग खुल्छ कि खुल्दैन भन्ने मात्र होइन खुलेपछि टिक्छ कि टिक्दैन भन्ने हो।




