हेटौँडा। लगातारको वर्षापछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार स्कुटीसहित एक चालक बाढीमा बेपत्ता भएका छन्। खोला तर्ने क्रममा बाढीले स्कुटीसहित चालकलाई बगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका हुन्।
घटनाबारे सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली खोजीमा परिचालन भएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार हालसम्म स्कुटी र चालक दुवै फेला परेका छैनन्। खोलाको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भएको उनले बताए।
बेपत्ता व्यक्तिको परिचय, स्कुटीको नम्बर तथा उनी कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत खुल्न बाँकी छ। घटनापछि सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाका विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन्।
निरन्तर वर्षाका कारण कान्ति लोकपथ, हुमाने र सिस्नेरी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको छ। भैँसे–भीमफेदी सडकखण्डमा ठूलो पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रा जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।
सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म हेटौँडा–भैँसे–भीमफेदी हुँदै काठमाडौँ जाने सडक र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालन रोकेको थियो। वर्षा र जोखिमको अवस्था हेरेर पुनः आवागमन रोक्न सकिने अधिकारीले बताए।
उनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न, खोला तर्ने प्रयास नगर्न र यात्रा गर्नुअघि प्रहरीको १०३ वा राष्ट्रिय विपद् सूचना नम्बर १२३४ मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न आग्रह गरे।



