खेल समाचारदशौँ राष्ट्रिय खेलकुदमा बागमतीको पूर्ण सहभागिता, ६५६ खेलाडी मैदानमा उतार्ने तयारी

दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको पूर्ण सहभागिता, ६५६ खेलाडी मैदानमा उतार्ने तयारी

हेटौँडा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित बागमती प्रदेशले ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी थालेको छ। प्रतियोगिताका लागि ६५६ खेलाडी छनोट गर्ने र उनीहरूलाई विशेष प्रशिक्षण दिएर प्रतिस्पर्धामा उतार्ने प्रदेश खेलकुद विकास परिषद्को योजना छ।

परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा खेलाडी, प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोलीसहित बागमती प्रदेशबाट कुल ७८२ जनाको सहभागिता रहनेछ। तीमध्ये ६५६ खेलाडी र १२६ जना अन्य जनशक्ति रहनेछन्।

प्रतियोगिताको तयारीस्वरूप प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल सङ्घलाई खेलाडी छनोटका लागि पत्राचार गरिएको छ। आगामी कात्तिक १५ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको लामाले बताए।

कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरीय छनोट हुनेछ भने बाँकी २० खेलका खेलाडी खुला प्रतिस्पर्धाबाट छनोट गरिनेछन्। खुला छनोटमा बागमती प्रदेशका १३ वटै जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्नेछन्।

परिषद्ले यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई समेत राष्ट्रिय खेलकुदको तयारीसँग जोडेको छ। उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई छनोट प्रक्रियामा समेत ध्यान दिइने सदस्यसचिव लामाले जानकारी दिए।

छनोटपछि विशेष प्रशिक्षण

राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर विशेष प्रशिक्षण दिने तयारी छ। खेलाडीको शारीरिक क्षमतासँगै मानसिक तयारी, खेल मनोविज्ञान, फिजियोथेरापी, पोषण र नियमित अभ्यासलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ।

आवश्यकताअनुसार दक्ष तथा उच्चस्तरीय प्रशिक्षकको व्यवस्था गरेर खेलाडीको प्रदर्शन सुधार गर्ने योजना रहेको लामाले बताए।

“कुन स्थान हासिल गर्छौँ भनेर अहिले नै ठ्याक्कै भन्न सकिँदैन, तर उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ,” उनले भने।

तयारीका लागि पाँच करोड ६० लाख, पदक विजेतालाई नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा सहभागिता तथा तयारीका लागि बागमती प्रदेशले पाँच करोड ६० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।

प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था पनि अघि बढाएको छ। स्वर्ण पदक विजेतालाई एक लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ।

प्रदेशका सबै जिल्लाबाट प्रतिभावान् खेलाडी छनोट गरी व्यवस्थित प्रशिक्षणमार्फत राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य परिषद्ले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img