पोखरा | सरकारले औपचारिक रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन्।
पोखरालाई पर्यटकीय राजधानी घोषणा भएसँगै सिंगो गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि आगामी ५ वर्षमा करिब एक खर्ब रुपैयाँको लगानी हुने अपेक्षा गरिएको छ। लगानीमा सरकारी, निजी क्षेत्र र दातृ निकायको योगदान रहने छ।
पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा महानगरपालिकाले विभिन्न नयाँ पर्यटकीय आकर्षणहरू विकास गर्ने योजना बनाएको छ। बेगनासतालमा करिब एक अर्ब लगानीमा वाटर स्पोर्ट्स क्षेत्र विकास गरिने छ भने पुरानो बस्तीलाई हेरिटेज सिटीको रूपमा विकास गरिनेछ।
अहिले पोखरामा १२ सय वटा होटल र लजहरू रहेका छन् जसमा ४० हजार बेड क्षमता छ। पोखरालाई चौबिसै घण्टा खुल्ला गर्ने निर्णय भइसकेको छ। महानगरले विभिन्न ठाउँहरूमा पर्यटन पूर्वाधार विकास गर्न ७ अर्बभन्दा बढी बजेट विनियोजन गरिसकेको छ।



