हेटौँडा । विज्ञान र प्रविधिमा रुचि भएका विद्यार्थीका लागि हेटौँडामा ठूलो अवसर आउने भएको छ। एस्ट्रोनोभा फाउण्डेसन नेपालले ‘समर स्टिम क्याम्प तथा एक्स्पो–२०८३’ आयोजना गर्दै १५० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा सहभागी गराउने घोषणा गरेको हो।
आगामी वैशाख ९ गतेदेखि सुरु हुने ४५ दिने क्याम्पमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत तथा एसइई दिएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। क्याम्पमा ३० दिन सघन कक्षा र १५ दिन प्रोजेक्ट–आधारित सिकाइमार्फत विद्यार्थीलाई प्रत्यक्ष प्रयोग र समस्या समाधानमा केन्द्रित गरिनेछ।
विद्यार्थीहरूले रोबोटिक्स, कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, गणित, विज्ञान, इन्जिनियरिङ, कला तथा साहित्य जस्ता विषयमध्ये आफूअनुसार छनोट गरेर अध्ययन गर्न पाउनेछन्। कार्यक्रमले विद्यार्थीलाई केवल सैद्धान्तिक होइन, व्यवहारिक सीप र नवप्रवर्तनतर्फ उन्मुख गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनको सहकार्यमा सञ्चालन हुने यस क्याम्पमा सहभागीहरूलाई रिसर्च पेपर लेखनसम्बन्धी विशेष तालिमसमेत दिइनेछ। साथै, अन्त्यमा हुने ‘स्टिम एक्स्पो’मा आफ्ना परियोजना सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिनेछ।
क्याम्पमा सहभागी हुन चाहने विद्यार्थीहरूलाई आइएएस र इएटी परीक्षणमार्फत छनोट गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने १५० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइनेछ भने अन्य इच्छुक विद्यार्थीका लागि सशुल्क सहभागिता पनि खुला रहनेछ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञान मेलामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत दिइने आयोजकले जनाएको छ।



