बागमती प्रदेशमकवानपुरबालेनलाई मेयर जिताउन हिँडेका प्रशान्त बने देशकै कान्छो सांसद

बालेनलाई मेयर जिताउन हिँडेका प्रशान्त बने देशकै कान्छो सांसद

हेटौँडा |  धेरै वर्ष भएकै छैन, मनहरिका गल्लीहरूमा झुल्के घामसँगै एउटा १२ वर्षे बालक हातमा पत्रिकाको मुठो च्यापेर दौडिरहेका हुन्थे। घर–घरमा पत्रिका पुर्‍याएर उनी दिनको सुरुवात गर्थे। तर, उनका लागि ती पत्रिका कागजका पाना मात्र थिएनन्। ती त देशको राजनीति र समाज बुझ्ने झ्याल थिए।

समाचारका हेडलाइनलाई खुबै चाख मानेर पढ्ने उनै प्रशान्त उप्रेती आज आफैँ हेडलाइन बनेका छन्– ‘नेपालकै कान्छा सांसद’का रूपमा।

प्रशान्तको घर मनहरी–७ मकवानपुर हो। पुर्ख्यौली थलो काभ्रेपलाञ्चोक भए पनि उनका हजुरबुवा खेतिपाती राम्रो हुन्छ भनेर पहाडबाट सर्लाही झरेका थिए। तर, मधेसमा टिक्न नसकेर केही समयपछि उनको परिवार मनहरी आइपुगे। झाडी फाँडेर बस्ती बसाइएको ठाउँमा उनीहरू बिना लालपुर्जा बसे। प्रशान्त त्यहीँ जन्मे।

‘म आफैँ पनि अव्यवस्थित बसोबासी अन्तर्गत पर्छु, त्यसैले म सुकुम्बासी नभए तापनि लालपुर्जा नहुँदाको समस्या र सुकुम्बासीका पीडालाई मैले नजिकबाट महसुस गरेको छु,’ प्रशान्त भन्छन्।

आफ्नो ठाउँका मानिसहरूलाई लालपुर्जा नभएकै कारणले बैंकिङ तथा कानुनी प्रक्रियामा बाधा छ, व्यवसाय गर्न मिल्दैन।

बुवा शिक्षक हुनाले परिवारले एउटा स्टेसनरी चलाएको थियो। पसलमा आउने पत्रिकाहरू ग्राहकको ढोकासम्म पुर्‍याउने जिम्मा प्रशान्तकै हुन्थ्यो।

‘पत्रिका पुर्‍याउन जाँदा हेडलाइन पढ्ने बानी कहिले बस्यो र त्यसले कहिले राजनीतिप्रति चासो जगायो, म आफैँलाई पत्तै भएन,’ प्रशान्त पुराना दिनहरू सम्झिन्छन्।

स्कुले जीवनमा उनी अलिक फरक थिए। पाठ्यक्रमका पुस्तकभित्र बाह्य ज्ञानका पुस्तक लुकाएर पढ्नु उनको रुचि थियो। हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकलामा सधैँ अगाडि रहने प्रशान्तको सामान्य ज्ञानप्रतिको मोहले उनलाई समकालीन साथीहरू भन्दा अगाडि पुर्‍याइसकेको थियो। यसै पनि उनी आफूभन्दा ठूला दाइहरूसँग मित्रता गाँस्थे।

एमआरआर र सामाजिक काम
मकवानपुरको युनाइटेड माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण भएपछि ०७३ मा प्लस टु पढ्न प्रशान्त काठमाडौँ आए। उनले ग्लोबल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन विषय लिएर पढे।

काठमाडौँ आएपछि प्रशान्तको जीवनले नयाँ मोड लियो। आफूभन्दा ठूलासँग मित्रता गाँस्ने बानी परेका उप्रेतीको ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) मा भिक्टर पौडेल, कुमार बेन, केपी खनाल, बब्लु गुप्ता लगायतसँग भेट भयो। जुन समूह अहिले आएर बालेनको टिमको मेरुदण्ड नै बन्यो।

यो एउटा त्यस्तो फेसबुक ग्रुप हो, जहाँ १८ वर्षभन्दा माथिका पुरुषहरू मात्रै ज्वइन हुन सक्छन्।

त्यहाँबाट भेटिएको समूहसँग दिनको २–४ घण्टा चिया पसलमा बसेर गरिने राजनीतिक बहसले उनको राजनीतिक विचारलाई थप परिपक्क बनायो।

सामाजिक कार्यमा खुबै चासो राख्ने प्रशान्त ‘आमाघर’ नामक आश्रमको स्थापना कालदेखि नै सदस्य छन्।

आमाघर एकल, घरबारविहीन, वृद्धाश्रम जानुपर्ने बाध्यता भएका, परिवारसँग बस्न असहज हुनेहरूको आश्रय स्थल हो। आमाघरमा उनी सल्लाहकार छन्।

त्यस्तै, नवनिर्वाचित सांसद केपी खनालले सञ्चालन गर्दै आएको मैनादेवी फाउन्डेसनमा पनि उनी आबद्ध थिए। डा गोविन्द केसीको आन्दोलनमा पनि समर्थन जनाउन उनी माइतीघर पुगिरहन्थे।

यस्तै, सांसद बब्लु गुप्ताले चलाउँदै आएको ‘१०० ग्रुप’ मा पनि प्रशान्त आबद्ध छन्। यसले एसईई दिइसकेका विद्यार्थीलाई प्लस टुका लागि पूर्ण छात्रवृत्ति, खाने–बस्ने व्यवस्था समेत मिलाउँछ। यो ग्रुपले ‘रुटिन अफ नेपाल बन्द’, विभिन्न कलेजहरू र अन्य संस्थाहरूबीच समन्वयको पहल गर्ने गर्छ।

बब्लु मन्त्री बनेपछि कुनै औपचारिक पद नभए पनि प्रशान्तले सचिवालयमा बसेर उनलाई सघाएका थिए।

बालेनलाई जिताउन हिँड्दा
२०८२ को स्थानीय तह निर्वाचनमा बालेन शाहले स्वतन्त्र उम्मेदवारको रूपमा मेयरको चुनाव लड्ने निर्णय गरे। उनका साथी रविन भारतीले प्रशान्त लगायत सबैलाई भने– ‘अब हामीले बालेनको चुनावी प्रचार–प्रसार गर्नु पर्छ।’

युवाहरूले पनि देशमा परिवर्तन चाहिरहेका थिए। त्यसैले घरदैलो गर्दै शाहको चुनावी प्रचारमा लागे।

‘चुनाव त लड्ने तर सुरुवाती दिनहरूमा घरदैलो गर्ने बेला मान्छेहरू ५–७ जना भन्दा धेरैको भिड नहुने, कुन पार्टी भन्दा स्वतन्त्र भन्थ्यौँ,’ प्रशान्त भन्छन्, ‘पछि हामीले फेरि एमआरआरमा आह्वान गर्‍यौँ।’

सो ग्रुपमा भएका तर काठमाडौँ बाहिरकाहरूले पनि आफ्नो घरबेटीसँग भोट माग्न थाले। त्यो बेलामा ‘घरबेटीसँग भोट माग्ने अभियान’ प्रशान्त लगायतका समूहले नै अगाडि बढाएको थियो। उक्त ग्रुप नै सबैको घर–घरसम्म पुग्ने सबैभन्दा सजिलो माध्यम बनेको प्रशान्त बताउँछन्।

केही समयपछि त बालेनका अन्तर्वार्ता र पुराना र्‍याप पनि भाइरल हुन थाले।

पछि, बालेन विजयी भएपछि उनको टिममा रहेर सचिवालयमा काम गरेको अनुभव समेत प्रशान्तलाई छ।

बालेन महानगर प्रमुख हुँदा पनि उनको सचिवालयमा रहेर महानगरमा युवा परिचालन, सम्पदाहरू संरक्षणका लागि पहल र जात्राहरूमा स्वयंसेवकको रूपमा समेत उनले काम गरे।

यी विभिन्न सामाजिक कार्य तथा अभियानसँगै प्रशान्तले आफ्नो पढाइलाई पनि अगाडि बढाएका थिए। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टबाट उनले स्नातक गरे। हाल उनी नेतृत्व र व्यवस्थापन विषय लिएर काठमाडौँ विश्वविद्यालयबाट स्नातकोत्तर गर्दैछन्।

न्याथममा स्नातक गर्दैगर्दा उनको भेट ऋषभ चालिसेसँग भयो। त्यसपछि उनीहरू दुई जना मिलेर ‘सनातन यात्रा प्रालि’ नामक ट्राभल एजेन्सी खोलेका छन्।

त्यसको एक वर्षपछि प्रशान्तले अमेरिकामा इन्टर्न गरेर फर्केका विपिन खड्कासँग मिलेर ठमेलमा ‘होटल एलिवे एक्सप्रेस’ खोलेका छन्।

प्रशान्तले आफूले एसएलसीसम्म पढेको युनाइटेड माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई ९ महिना सामाजिक अध्ययन पढाए। तर चुनावमा उठ्ने निर्णय गरिसकेपछि भने उनले पढाउन छोडे।

चुनावमा जित
प्रशान्त र उनका साथी समूह २०८४ को प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा थिए। तर ०८२ मै ‘जेनजी आन्दोलन’ का कारण प्रधानमन्त्री केपी ओलीको सरकार ढल्यो र अन्तरिम सरकार आयो। आन्दोलन हुँदा प्रशान्त मकवानपुरमै थिए।

फागुन २१ मा हुने चुनावमा प्रशान्तको उमेर पनि ठिक्क २५ पुगेको थियो। रास्वपाले उनलाई टिकट पनि दियो। तर, घरदैलोमा जाँदा थुप्रै मान्छेले उनलाई पत्याएनन्।

‘यो केटाले के गर्ला, कलिलै उमेरको छ!’ कतिपयले आश्चर्य व्यक्त गरे।

तर नतिजा सोचेभन्दा धेरै राम्रो आयो। पहिलो प्रयासमै उनी निर्वाचित भए।

अहिले उनी धन्यवाद दिन मतदाताको घरदैलोमा पुग्दा धेरैले सोध्छन्– ‘तिमी नै हो बालेन भनेको?’

उनी अक्क न बक्क हुन्छन्।

‘हामीले पाएको भोट परिवर्तनको नयाँ आशा मात्रै होइन, यो पुराना पार्टीप्रतिको आक्रोश पनि हो। मानिसहरूले आफ्नै पार्टीमा रहेर पनि परिवर्तनका लागि हामीलाई मतदान गरेका छन्,’ उनी भन्छन्।

प्रशान्तका बुबा रामचन्द्र ०४८ सालदेखि नेकपा एमालेमा आबद्ध थिए। प्रशान्तले रास्वपाको उम्मेदवारी पाएपछि उनका बुवाले एमाले छाडेका छन्।

अब असल काम गरेर आफूलाई पुष्टि गर्ने चुनौती उनको सामु छ। उनी इमानदार रहने प्रतिबद्धता जनाउँछन्।

‘त्यस्तो खाडल कहिल्यै खन्नु हुँदैन, जहाँ कुनै दिन आफू पर्न सकिन्छ, किनकि खाल्टोले मालिक चिन्दैन भन्ने मलाई लाग्छ,’ प्रशान्त भन्छन्। नेपालखबरबाट

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img