हेटौँडा । बागमती प्रदेश सभाको आज बिहान ११ बजेका लागि तय भएको बैठक ‘विशेष कारण’ भन्दै असार १६ गतेसम्मका लागि स्थगित भएको छ। यद्यपि संसद सचिवालयले बैठक स्थगनको कारण औपचारिक रूपमा खुलाएको छैन । स्रोतका अनुसार बैठक रोकिएको मूल कारण बजेटमा उत्पन्न असहमति र सत्तापक्षभित्रै देखिएको आन्तरिक असन्तोष हो।
बुधबार साँझ बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले बजेटप्रति गम्भीर असन्तुष्टि जनाएका थिए। मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि आफ्ना जिल्लालाई बेवास्ता गर्दै बजेट केही निश्चित क्षेत्रमा मात्र केन्द्रित गरिएको आरोप लगाइएको थियो।
बैठकमा सहभागी कांग्रेस सांसदहरूले बजेट निर्माणमा बिचौलिया हावी भएको र उनीहरूको स्वार्थ अनुसार योजना छनोट गरिएको भन्दै चर्को आलोचना गरेका छन्। सरकारले ल्याएको बजेटप्रति प्रश्न उठाउने सत्तारुढ दलभित्रकै सांसदहरूको विरोध खुला रूपमा चुलिन थालेपछि आजको बैठक स्थगन गरिएको हो।
त्यसैगरी, पूर्वी नवलपरासीको कावासोती क्षेत्रलाई बागमती प्रदेशको बजेटमार्फत पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको विषयमा पनि सांसदहरूले प्रश्न उठाएका छन्। ‘बजेटको रातो किताब’मा कावासोती नगरपालिका–२ को शिव मावि परिसर र आसपासको क्षेत्रलाई लक्षित गरी पूर्वाधार निर्माणको योजना समावेश गरिएको छ, जुन भूगोल बागमती प्रदेश बाहिर पर्छ।