मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण भएको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिका वडा ३, हात्तीसुढेमा बनेको चारतले भवनको उद्घाटन गर्दै लोकतान्त्रिक प्रणालीले नागरिकलाई प्रतिनिधि छान्ने मात्र होइन, मन नपरेमा पार्टी वा व्यक्ति नै बदल्ने स्वतन्त्रता दिएको टिप्पणी गरे।
मुख्यमन्त्रीले वर्तमान संघीय लोकतान्त्रिक संरचना भूगोल, वर्ग, समुदाय र लिङ्ग सबैलाई न्याय दिने उद्देश्यले बनेको बताए। “गाउँ–गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सेवा पुगेको कुरा मन नपर्ने केही समूह अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन्। तर यस्ता सोच धेरै समय टिक्दैन,” उनकाे भनाइ थियो।
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा कमजोरी देखिए सुधार्न सकिन्छ, गल्ती गर्नेले कानुनी दण्ड भोग्नुपर्छ, र जनतामुखी काम गरेर नै प्रणाली बलियो बन्छ। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिब र सिमान्तकृत परिवारका लागि नि:शुल्क डाक्टर, भेटेनरी र नर्स उत्पादन कार्यक्रम अघि बढाएको जानकारी पनि दिए।
मुख्यमन्त्रीकाे भनाइमा प्रदेश सरकारले एकल महिला, दलित र विपन्न परिवारका लागि आवास कार्यक्रम तेज बनाएको छ, प्रविधि–सीपसहित बिना ब्याज ऋण उपलब्ध गराउँदै गरिबलाई आत्मनिर्भर बनाउने योजनामा काम भइरहेको छ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा र पूर्वाधारमा गरिएको लगानीले गाउँको आर्थिक स्थिति बदलिन थालेको बताए।
“पहिले ‘बच्चा पढाउन सकिन’, ‘घर चलाउन गाह्रो भयो’ भन्ने गुनासो धेरै थिए। अहिले धेरैले रक्सी पसल छोडेर कृषिमै फर्किएका छन्। युवाहरू ५–१० वटा गाई पालेर गाउँमै राम्रो कमाइ सम्भव भएको देखेर यहीँ बस्न थालेका छन्,” उनले भने।
गाउँपालिकाले यस वर्ष करीब चार करोड रुपैयाँ शिक्षामा खर्च गरेको छ। पूर्वाधारका हिसाबले बकैया मकवानपुरका अन्य स्थानीय तहभन्दा पछि नरहेको दाबी पनि अध्यक्ष लामिछानेले गरे।
भवन निर्माणका लागि ६० प्रतिशत बजेट संघीय सरकार र ४० प्रतिशत गाउँपालिकाले व्यहोरेका छन्। २०७९ जेठ ३१ मा भएको सम्झौताअनुसार २०८१ असार १५ सम्म सम्पन्न गर्ने योजना थियो। म्याद थपिँदै गएर भवन गत भदौ ३१ गते हस्तान्तरण भएको हो । सम्झौता मूल्य (भ्सयाटहित) ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकामा अतिरिक्त कामसँगै लागत बढेर ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको गाउँपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, पूर्व उपाध्यक्ष सरला बोलखे, स्थानीय प्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।



