मकवानपुरथाहा नगरपालिकाथाहाले सार्वजनिक गर्‍यो ६० करोड ८ लाखको बजेट

थाहाले सार्वजनिक गर्‍यो ६० करोड ८ लाखको बजेट

हेटौँडा | मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख भरत गोपालीले विशेष नगरसभामा बजेट प्रस्तुत गर्दै नगरको विकास अवधारणालाई सन्तुलित, समावेशी र दिगो बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये ३६ करोड ५ लाख पूँजीगत खर्चका लागि र २४ करोड ३ लाख चालु खर्चका लागि विनियोजन गरिएको छ। यो अनुपातमा बजेटको ५९.८२ प्रतिशत पूँजीगततर्फ र ४०.१८ प्रतिशत चालुतर्फ केन्द्रित छ।

राजस्व स्रोतमा संघीय सरकारबाट २४ करोड ५९ लाख, प्रदेश सरकारबाट १५ करोड ८ लाख, आन्तरिक स्रोतबाट १२ करोड ३२ लाख र साझेदारी तथा वैकल्पिक स्रोतहरूबाट ८ करोड ९ लाख संकलन गरिने योजना प्रस्तुत गरिएको छ। उपप्रमुख गोपालीका अनुसार, स्थानीय पूर्वाधार विकासलाई नगरको मेरुदण्ड मानी करिब २२ करोड रुपैयाँ सडक, ढल, नाला, पुल र खानेपानी योजनामा खर्च गरिनेछ।

शिक्षा क्षेत्रको विकासमा विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा सञ्चालन, विद्यालय पोषण कार्यक्रम, तथा बालमैत्री वातावरण निर्माणका कार्यक्रम समावेश छन्। विशेष आवश्यकता भएका बालबालिकालाई लक्षित गरी पहुँच सुनिश्चित गर्ने कार्यक्रम पनि बजेटमा अटाइएको छ। स्वास्थ्य क्षेत्रमा, हरेक वडामा एक–एक जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने र सबै स्वास्थ्य संस्थाहरूमा डिजिटल डाटाबेस प्रणाली लागू गरिने योजना रहेको छ। साथै, मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति समेत बजेटमा समावेश गरिएको छ।

बजेटले रोजगारी सृजनामा ‘एक घर, एक उद्यम’ कार्यक्रम लागू गर्दै कम्तीमा ५० युवालाई स्वरोजगारको अवसर दिने लक्ष्य लिएको छ। स्वरोजगारमूलक अनुदान, तालिम तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम नगरले प्राथमिकतामा राखेको हो।

थाहा नगरपालिकाले यो वर्षबाट डिजिटल रूपान्तरणलाई विशेष प्राथमिकता दिएको छ। सबै वडा कार्यालयमा इ-गभर्नेन्स प्रणाली लागू गरिनेछ भने नागरिक सेवा सहज बनाउन ‘थाहा मोबाइल एप’ पुनर्संरचना गरिनेछ। सेवाको पारदर्शिता, पहुँच र प्रभावकारिता सुनिश्चित गर्न योजना कार्यान्वयनमा अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ बनाइने उपप्रमुख गोपालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img