हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले फागुन १७ गतेदेखि मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ पठाउने काम सुरु गरेको छ। प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख एवम् मकवानपुरका सहायक निर्वाचन अधिकृत हरि ढकालका अनुसार १९ गतेसम्म कर्मचारी खटाउने काम सकिने र २० गतेभित्र सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगिसक्ने तयारी गरिएको छ।
ढकालले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्न सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार अबको चरण मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै मतदान प्रक्रियालाई समयतालिकाअनुसार अघि बढाउने हो। “हामी तयारीको अन्तिम विन्दुमा छौँ। कर्मचारी साथीहरू मतदान सामग्री लिएर केन्द्रतर्फ लाग्ने क्रममा हुनुहुन्छ,” उनले भने।
निर्वाचनको दिन सार्वजनिक सवारी साधन बन्द रहने भए पनि हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदाताका लागि विगतको अभ्यासअनुसार विशेष व्यवस्था गरिने उनले स्पष्ट पारे। मतदान अधिकृतको स्वीकृतिमा त्यस्ता मतदातालाई मतदान केन्द्रसम्म ल्याएर मतदान गराउने व्यवस्था मिलाइनेछ।
१६७ मतदानस्थल, ३७४ मतदान केन्द्र र ३ लाख १५ हजारभन्दा बढी मतदाता
मकवानपुरका १०२ वडामा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मकवानपुर–१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्रमा १ लाख ५८ हजार ४३४ मतदाता छन् भने मकवानपुर–२ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्रमा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।
जिल्लामा दुई अस्थायी मतदानस्थलसमेत राखिएको छ। भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक अस्थायी मतदानस्थल तोकिएको छ। भीमफेदी कारागारमा ९ सय ९५ कैदीबन्दी भए पनि मतदाता नामावलीमा ७५ जनाको मात्र नाम रहेको छ, जसमा ३ जना महिला र ७२ जना पुरुष छन्।
जिल्ला सुरक्षा समितिले सुरक्षाको दृष्टिकोणले १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको छ। अति संवेदनशील सूचीमा २६ मतदान केन्द्र रहेका छन्। बकैया, राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा परेका छन्।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जिल्लाभर तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ। “समग्र सुरक्षाको अवस्था सामान्य छ। सबै राजनीतिक दल, उम्मेदवार र नागरिकको सहयोगले वातावरण सकारात्मक छ,” उनले भने। उनका अनुसार १६७ वटै मतदानस्थल र सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिइसकिएको छ र निर्वाचनमा अवरोध पुर्याउने कार्य दण्डनीय हुने चेतावनी दिइएको छ।
अधिकारीले सम्भावित विषम परिस्थितिका लागि ‘प्लान बी’ र ‘प्लान सी’ समेत तयारी अवस्थामा रहेको बताए। सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाअनुसार सुरक्षा रणनीति तय गरिएको उल्लेख गर्दै उनले मकवानपुर प्रदेश राजधानी भएकाले प्रदेशस्तरीय सुरक्षा संयन्त्रको पनि सहयोग रहेको जानकारी दिए। “हामी ‘प्लान ए’ कै आधारमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त छौँ, तर आवश्यक परे वैकल्पिक योजना लागू गर्न तयार छौँ,” उनले भने।
यसपटक सबै मतदातालाई नयाँ परिचयपत्र वितरण नगरिएको भए पनि मतदाता नामावलीमा नाम भएकाले वैकल्पिक सरकारी कागजात प्रस्तुत गरी मतदान गर्न सकिने ढकालले बताए। नागरिकता, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र लगायत आयोगले तोकेका कागजातका आधारमा मतदान गर्न पाइनेछ।
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगले उम्मेदवारलाई बैंक खाता अनिवार्य गरेको छ। मकवानपुरका दुई निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित ४४ जना उम्मेदवारमध्ये ४० जनाले खाता खोलेका छन्। चार जनाले प्रक्रिया पूरा गर्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारलाई व्यक्तिगत तथा स्वैच्छिक सहयोगबाट प्राप्त रकम र खर्च बैंकिङ प्रणालीमार्फत पारदर्शी बनाउनुपर्ने प्रावधान लागू गरिएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना गरिने तयारी छ। ढकालका अनुसार मतदान सकिएलगत्तै गणना प्रक्रिया सुरु गरिनेछ र परिणाम सकेसम्म चाँडो सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
जिल्ला प्रशासन र निर्वाचन कार्यालयले संयुक्त रूपमा मतदातालाई निर्भय, स्वच्छ र निष्पक्ष वातावरणमा मतदान गर्न आह्वान गर्दै सबै पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।



