बागमती प्रदेशमकवानपुरमकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, ‘घरभित्रै संयमित रूपमा मनाउनू’ -...

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, ‘घरभित्रै संयमित रूपमा मनाउनू’ – प्रजिअ अधिकारी

हेटौँडा |  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मकवानपुरमा मदिरा बिक्री–वितरण, सेवन तथा ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भीडभाड, ठुलो साउन्ड सिस्टमसहितको डिजे, पानीका फोहोरा र सार्वजनिक स्थानमा समूहगत होहल्ला समेत रोक लगाएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा होलीका नाममा हुन सक्ने उच्छृङ्खल गतिविधिले निर्वाचन प्रक्रियामा प्रत्यक्ष असर पार्न सक्ने भन्दै कडा सुरक्षा रणनीति अपनाइएको बताए। “अहिले हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु नै पहिलो दायित्व हो,” उनले भने।

प्रजिअ अधिकारीका अनुसार निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशनअनुसार १४ गतेदेखि नै मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। प्रहरी टोलीले खुला रूपमा बिक्री भइरहेको स्थानहरूमा निगरानी र नियन्त्रण प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए। “मदिराका कारण झगडा र दुर्घटना बढ्ने सम्भावना हुन्छ। त्यसैले आजैदेखि प्रहरी परिचालन गरिएको छ,” उनले भने।

आचारसंहिताले एकै स्थानमा ठुलो भीड जम्मा गर्न, कुनै दलको चुनाव चिन्ह अङ्कित टिसर्ट, टोपी वा झन्डा प्रयोग गर्न निषेध गरेको स्मरण गराउँदै प्रशासनले होलीका क्रममा राजनीतिक सङ्केत प्रयोग गरे कारबाही गरिने चेतावनी दिएको छ।

गत वर्षहरूमा हेटौँडाका सङ्गम चोक, बुद्ध चोक, सीमा चोक, हुप्रा चौर, पारिजात मार्ग र स्कुल रोड क्षेत्रमा हुने व्यापक भिडभाड यसपटक पूर्ण रूपमा नियन्त्रण गरिने प्रशासनको तयारी छ।

होलीका दिन सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी साधन प्रयोगमा समेत कडाइ गरिने भएको छ। विशेष गरी मोटरसाइकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा हुइँक्याउनेहरूलाई कारबाही गरिने प्रजिअ अधिकारीले बताए।

१८ गते पहाडी समुदाय र १९ गते मधेसी समुदायले खेल्ने होली निर्वाचनको ठीक अघिल्लो चरणमा परेकाले यसलाई ‘चुनौती’ का रूपमा लिइएको अधिकारीको भनाइ छ। “होलीका गतिविधिले २१ गते हुने निर्वाचनमा कुनै असर पुग्नु हुँदैन। त्यसैले सकभर आ–आफ्नो घरको कम्पाउन्डभित्र परिवारसँगै संयमित रूपमा होली मनाउन अनुरोध गर्छु,” उनले भने।

उनले उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी दिँदै सबै राजनीतिक दल, व्यवसायी र नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन्। “निर्वाचन सकिएपछि रमाइलो, पिकनिक र उत्सव गर्न सकिन्छ। अहिलेको प्राथमिकता भनेको स्वतन्त्र र निष्पक्ष निर्वाचन हो,” अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img