काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान नयाँ मौसम बुलेटिन जारी गरेको छ। बुलेटिन अनुसार, हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। अन्य क्षेत्रहरूमा स्थानीय वायु र भारतको बिहार नजिकैको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली छाएको छ। यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस कारण ती क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढेको छ।
मौसम विभागले यी क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ। सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बुधबार र बिहीबार पनि यस्तै मौसम रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम विभागले सबैलाई सावधानी अपनाउन र मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाव दिएको छ। किसानहरूलाई कृषि कार्यमा सावधानी अपनाउन र स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।