म्याग्दी | ग्रामीण क्षेत्रका समुदायले सञ्चालित मङ्गला शिक्षा क्याम्पसले यस वर्षको तिहारमा देउसीभैलो खेलेर ४० लाख रुपैयाँ संकलन गरेको छ। मङ्गला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा रहेको यस क्याम्पसले उक्त रकम अक्षयकोषमा जम्मा गर्ने निर्णय गरेको छ, जसले दीर्घकालीन रुपमा क्याम्पसको विकास र शैक्षिक गुणस्तरमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाका अनुसार देउसीभैलो अभियानमार्फत क्याम्पसले दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत हालसम्म ५३ लाख रुपैयाँ संकलन भइसकेको छ।
देउसीभैलो कार्यक्रमका क्रममा अमेरिका र बेलायतमा बसोबास गरिरहेका बाबियाचौरका दिदीबहिनी डा. रेखा रोका, डा. रञ्जना रोका र डा.स्वस्ती रोकाले जनही एक लाख ९२ हजार गरी पाँच लाख ७६ हजार रुपैयाँ सहयोग गरेका छन्। उनीहरू क्याम्पसका संरक्षक सत्प्रसाद रोका र आर्थिक सङ्कलन उपसमिति संयोजक यशोदा रोकाका छोरी हुन्।
सङ्कलित अक्षयकोषको ब्याजबाट क्याम्पसले पूर्णकालीन प्राध्यापकको तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार निर्माण, आर्थिक रुपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति र समुदायसँग सम्बन्ध सुदृढ गर्न कार्य गर्नेछ।
मङ्गलामा १२ कक्षासम्म पढेका विद्यार्थीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न बाबियाचौरको लाम्पाटामा ३३ रोपनी जग्गामा क्याम्पसको संरचना निर्माण गरिएको छ। हाल यहाँ शिक्षाशास्त्र संकायमा स्नातक तहका २४० विद्यार्थी अध्ययनरत छन्।
क्याम्पसका सञ्चालकले देउसीभैलो अभियान जारी राख्दै स्वदेश र विदेशमा रहेका मङ्गला गाउँपालिकाका समुदायलाई सहयोग गर्न आह्वान गरेका छन्।