काठमाडौं | सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन, जसमा व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई पूजा गरेर अर्घ्य दिने परम्परा छ। रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो चारदिने पर्वको समापन हुनेछ।
आज छठको विशेष महत्त्वलाई ध्यानमा राखी सरकारले सार्वजनिक बिदा दिएको छ। काठमाडौं उपत्यकादेखि तराई–मधेशसम्म छठको विशेष रौनक छ।
काठमाडौं महानगरपालिकाले विभिन्न आठ स्थानमा छठघाट निर्माण गरेको छ। वडानम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठ पूजा स्थल निर्माण गरी सरसफाइ, सजावट र सुरक्षा प्रबन्ध मिलाइएको छ।
जनकपुरधामका गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ लगायतका सरोवरमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्रीसहित भेला भइरहेका छन्। यस अवसरमा जनकपुरका धार्मिक सरोवरहरू र ग्रामीण क्षेत्रका जलाशयहरू सजाइएका छन्। पोखरी नहुने क्षेत्रमा इनार सजाएर पनि छठ पूजा गरिन्छ।
छठ पूजामा आज साँझ राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तिहरू पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिन छठघाट जाने कार्यक्रम छ। पर्वले विशेषगरी तराई क्षेत्रमा महत्त्व राखे पनि पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसहरूले पनि यो पर्व मनाउने क्रम बढेको छ। यसले सामाजिक सद्भाव र एकता प्रकट गरेको छ।
जनविश्वास अनुसार छठको विधिपूर्वक पालन गर्दा मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःखकष्ट हट्ने विश्वास छ। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश पठाएका छन्।