हेटौँडा | नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै हेटौँडाका सयौं अभिभावक विद्यालय छनोटको अन्योलमा परेका छन्। एकातिर निजी विद्यालयहरूको भर्ना प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ—कक्षा सञ्चालन भइसकेका छन्, पेरेन्ट मिट, काउन्सिलिङ र सेमिनारजस्ता कार्यक्रमहरू बन्दै छन्। अर्कोतर्फ, सामुदायिक विद्यालयहरू अझै आन्दोलनरत शिक्षकहरूको कारण सुस्त गतिमा छन्। यही असन्तुलनले अहिले अभिभावकहरूलाई “शुल्क तिर्छु, तर ब्रान्डेड निजी रोज्ने कि कम शुल्कमा भरोसापूर्ण सरकारी?” भन्ने दोधारमा पारेको छ।
शिक्षकको आन्दोलन, समयमै नभएको नीति कार्यान्वयन र प्रचार–प्रसारमा रहेको कमजोरी सामुदायिक विद्यालयहरूका मुख्य समस्या हुन्। विशेषतः शिक्षकरत आन्दोलनरत छन्। यसले प्रत्यक्ष असर विद्यार्थी भर्ना र कक्षा व्यवस्थापनमा पारेको छ। यस्तो बेलामा निजी विद्यालयहरूले यही खालीपनलाई आफ्नो फाइदाका रूपमा प्रयोग गरिरहेका छन्।
निजी विद्यालयहरू भने यसबीचमा स्पष्ट रणनीति, शैक्षिक ब्राण्डिङ र अभिभावक-मैत्री वातावरण निर्माणमा अग्रसर देखिन्छन्। उनीहरूले विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर प्रविधिमैत्री कक्षा, अंग्रेजी संवाद कौशल, तथा नियमित फिडब्याक सिस्टम जस्ता विषयहरूलाई प्राथमिकतामा राख्दै भर्ना अभियानलाई कलेजस्तरको क्याम्पेनजस्तो बनाएका छन् ।
हेटौँडाका निजी विद्यालयहरूले गत वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन्। तर यो सत्यलाई नजरअन्दाज गर्न मिल्दैन कि पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयहरूले पनि ठुलो फड्को मारेका छन्। हेर्नुहोस् मकवानपुरमा गत वर्षको एसईई परीक्षामा ७०% भन्दा माथि बढी विद्यार्थी पास गराउन सफल निजि तथा सामुदायिक विद्यालयहरूको सूची :
अभिभावकहरूलाई विद्यालय छनोट गर्नुभन्दा पहिला विद्यालयको भ्रमण गर्नु, शिक्षकसँग कुराकानी गर्नु, पुराना विद्यार्थी र अभिभावकसँग फिडब्याक लिनु आवश्यक हुन्छ। धेरै विद्यालयहरूले अहिले वेबसाइट, फेसबुक पेजमार्फत आफ्नो विवरण सार्वजनिक गरेका छन्।
अभिभावकको निर्णयमा अब निजी वा सामुदायिक भन्ने होइन, ‘कुन विद्यालय साँच्चिकै विद्यार्थी केन्द्रित र शिक्षाको गुणस्तरमा विश्वसनीय छ’ भन्ने कुराले निर्णायक भूमिका खेल्नुपर्छ।
यो पनि ।