चितवन | चितवनको भरतपुरमा बोलेरो जिपको ठक्करबाट स्कुटर सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना शुक्रबार दिउँसो करिब १:३० बजे भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको हो। गितानगरबाट अण्डा बोकेर भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी वाग्लेलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
दुर्घटनामा संलग्न बोलेरो र स्कुटर दुवै प्रहरीको नियन्त्रणमा छन्। बोलेरो चलाएका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी २५ वर्षीय पेमा लामालाई पनि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।