हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले देशव्यापी अभियानअनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको ज्ञापनपत्रमार्फत पार्टीले सरकारसँग ६ बुँदे माग अघि सारेको छ।
मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाइएको हो। राप्रपा मकवानपुरका उपाध्यक्ष कविन्द्र राज भट्राईका अनुसार ज्ञापनपत्रमा पूर्व न्यायाधीशको नेतृत्वमा नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन, झुठा मुद्दा खारेज र निर्दोषहरुको रिहाइ, घाइतेको निःशूल्क र प्रभावकारी उपचारको व्यवस्था, र पार्टीले अघि सारेको ४० बुँदे मागमाथि वार्ताका लागि टोली गठन लगायतका विषय समेटिएका छन्।
ज्ञापनपत्र बुझाउनुअघि हेटौँडा–२, सानोपोखरास्थित पार्टी कार्यालयबाट निकालिएको र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको थियो। सहभागीहरूले “दलालीतन्त्र मुर्दाबाद”, “संघीयता खारेज गर” जस्ता नारासमेत लगाएका थिए।
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले सरकारले जनभावनाको उपेक्षा गरे परिस्थिति जस्तो भए पनि पार्टी त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए। उनले सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनविरोधी नीति, भेदभावपूर्ण शासन र अन्यायपूर्ण मुद्दाहरूको अन्त्य नभएसम्म संघर्ष जारी रहने बताए।