हेटौँडा | हेटौँडामा इ–स्पोर्ट्सप्रतिको बढ्दो आकर्षणलाई विधिवत् रूपमा संस्थागत र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले ‘इ–स्पोर्ट्स एरेना सिजन–दोस्रो’ प्रतियोगिता साउन ७ गतेदेखि सुरु हुँदैछ। हेटौँडा सिटी कलेज र जेनिथ इन्टरनेसनल विद्यालयको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहनेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा सिटी कलेजका क्याम्पस प्रमुख श्रीबहादुर कार्कीले इ–स्पोर्ट्सलाई व्यवस्थित गर्दै भविष्यमा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिने सम्भावना रहेको धारणा व्यक्त गरे। उनले भने, “आजको पुस्ता मोबाइल र कम्प्युटरमा आधारित खेलप्रति अत्यधिक आकर्षित छ। हामीले यसलाई व्यवस्थापन गर्दै शिक्षासँग जोडेर सकारात्मक दिशामा लैजाने प्रयास गरेका हौं।”
प्रतियोगितामा सहभागिताका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र कक्षा १० को परीक्षा (एसईई) दिइसकेको वा उत्तीर्ण गरेको हुनुपर्नेछ। सहभागीहरूले ह्वाट्सएपमार्फत निःशुल्क दर्ता गरेका थिए। दर्ता खुलाइएको केही दिनमै सबै स्लट भरिएको प्रमुख कार्कीले जानकारी दिए।
प्रतियोगिता तीन विधामा सञ्चालन हुनेछ । फ्रि फायरमा ३६ टोली, पब्जीमा १२ टोली र इ–फुटबलमा ४० जना खेलाडीको सहभागिता रहनेछ। हरेक टोलीमा ४ जना खेलाडी र १ जना ब्याकअप गरी ५ जनासम्म रहने व्यवस्था गरिएको छ। कुल ४८ टोली र करिब २८० जना खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।
फ्रि फायर प्रतियोगिता बर्मुडा, पुरगेटोरी र कालाहारी नामका म्यापहरूमा सञ्चालन हुनेछ। सहभागी ३६ टोलीलाई १२–१२ टोलीको दरले तीन समूहमा विभाजन गरिनेछ र प्रत्येक टोलीले छनोट चरणमा तीन खेल खेल्नेछन्। अंक तालिकाको आधारमा उत्कृष्ट १२ टोली फाइनलमा पुग्नेछन्।
फ्रि फायर विधामा प्रथम हुने टोलीलाई ११ हजार, दोस्रोलाई ५ हजार ५ सय, तेस्रोलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) र सबैभन्दा बढी मन पराइएको टोलीलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
पब्जी प्रतियोगिता मिरामार, एराङ्गेल र सन्होक म्यापमा सञ्चालन हुनेछ। सहभागी १२ वटै टोली फाइनल चरणमै प्रतिस्पर्धा गर्नेछन्। यस विधामा प्रथम टोलीले ८ हजार ५ सय, दोस्रोले ४ हजार, तेस्रोले २ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र फ्यान फेभरेट टोलीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
इ–फुटबल प्रतियोगिता एक–एक जना खेलाडीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने स्वरूपमा सञ्चालन हुनेछ। सहभागी ४० जना खेलाडीलाई प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्म प्रतिस्पर्धा गराइनेछ। विजेताले ४ हजार, दोस्रो स्थानले २ हजार ५ सय, तेस्रो स्थानले १ हजार ५ सय र सबैभन्दा बढी गोल गर्ने खेलाडीले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिता कक्षा १० र १२ का परीक्षा दिएर बसेका विद्यार्थीहरू लक्षित गरी आयोजना गरिएको हो। सहभागीहरूको उल्लेखनीय हिस्सा हेटौँडा बजार क्षेत्रका निजी तथा सामुदायिक कलेजहरूबाट रहेको आयोजकको भनाइ छ।
विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार यो प्रतियोगिता मकवानपुर जिल्लामा कलेज तहबाट आयोजना गरिएको सबैभन्दा ठूलो इ–स्पोर्ट्स प्रतियोगिता हो। उनले भने, “हामीले प्रतियोगिता मात्र होइन, नेतृत्व, योजना, टोली व्यवस्थापन, प्रविधि र रणनीतिक सोचको अभ्यास पनि प्रदान गर्ने उद्देश्य लिएका छौं।”
प्रतियोगिताको सबै खेल हेटौँडा सिटी कलेजको सामाजिक सञ्जाल फेसबुक र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। साउन ८ गते अन्तिम चरणको खेल सम्पन्न भएपछि उत्कृष्ट टोली र खेलाडीहरूलाई एक विशेष समारोहमार्फत सम्मान गरिनेछ।



