हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण, अबैध भन्सार छलि, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनका क्षेत्रमा विविध कारबाही अघि बढाएको छ। कार्यालयका प्रवक्ता डीएसपी श्यामु आर्यालका अनुसार लागुऔषधसम्बन्धी मुद्दा, गिरफ्तारी तथा फडानी कार्यमा उल्लेखनीय संख्यामा कार्यवाही भएको छ।
यस अवधिमा लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गरिएकामा २८९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५९ जना स्वदेशी पुरुष, १७ जना महिला र १३ जना विदेशी नागरिक छन्। प्रहरीले ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ९५ हजारभन्दा बढी नाइट्राभेट तथा ट्रामाडोल ट्याब्लेट/क्याप्सुल, २ हजार ७ सय ५७ एम्पुल डाईजेपाम, ६२८ बोतल कोरेक्स र ४७६ ग्राम हेरोइन बरामद गरेको छ। साथै, ५५ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएका छन्।
गाँजा खेती १२० बिगाहा ४ कठ्ठा र अफिम खेती ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा फडानी गरिएको प्रहरी कार्यालयले जनाएको छ। यो कार्यमा ४२१ जना प्रहरी परिचालित गरिएको थियो।
अबैध रूपमा भित्र्याइएको सुन ८ किलो ७३५ ग्राम र चाँदी २ किलो १९६ ग्राम बरामद गरिएको छ। खाद्यान्न र लत्ताकपडाजस्ता सामानसहित करिब १६ करोड १७ लाख बराबरको मूल्यमा भन्सार छलि नियन्त्रणमा लिइएको विवरणमा उल्लेख छ। विदेशी मुद्राका रूपमा अमेरिकी डलर र युरो गरी कुल ६२ लाख ९० हजार बराबरको नगदसमेत बरामद गरिएको हो।
अपराध अनुसन्धानतर्फ १०७५ वटा मुद्दा दर्ता गरिएकोमा ९२८ जना व्यक्तिलाई पक्राउ गरिएको छ। फरार अभियुक्तमध्ये १८३ जनालाई पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ। जरिवानातर्फ १ करोड २१ लाखभन्दा बढी असुल गरिएको छ।
अबैध गिट्टी–बालुवा उत्खननसम्बन्धी १९५ वटा सवारीसाधनलाई कारबाही गरी ११ लाख १५ हजार बराबरको राजस्व संकलन गरिएको छ। त्यस्तै, ट्राफिकतर्फ ४०७ वटा सवारी दुर्घटनामा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन्। ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाहीमा ३० हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएका छन् र सोबाट २ करोड ४१ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ।
प्रहरी कार्यालयले सवारी सचेतना कार्यक्रमअन्तर्गत २६१६ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सहभागी भएका थिए।



