हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई छिट्टै ‘मानवताको प्रदेश’ घोषणा गर्ने योजना रहेको बताएका छन्। उनले प्रदेशका सबै १३ जिल्लामा सडक–आश्रित, बेसहारा र असहाय व्यक्तिहरूको व्यवस्थापन तथा संरक्षणको तयारी गरिएको जानकारी दिए।
हेटौँडामा आयोजित मानव सेवा आश्रमको १३ औँ वार्षिक साधारण सभा मा मुख्यमन्त्री बानियाँले आश्रमको सेवा उत्कृष्ट भएको उल्लेख गर्दै त्यसलाई प्रदेशभर विस्तार गर्न सरकार पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले भने, “एउटा व्यक्तिले सत्य र मानवताको भावले निरन्तर काम गर्दा समाज र सरकारमा पनि सकारात्मक प्रभाव पर्न सक्छ। हामी सरकारले आवश्यक सहयोग गर्नेछौँ।” उनले थपे कि दुईवटा प्रदेशले पहिले नै सडक–मानवमुक्त प्रदेश घोषणा गरिसकेको जानकारी छ भने, बागमती प्रदेश यस अभियानमा तेस्रो प्रदेश हुनेछ।
सरकारले सेवा विस्तार अभियानमा आश्रमसँग साझेदारी गर्ने र आवश्यक परे भवन तथा संरचना निर्माणमा सहयोग गर्न तत्पर रहने पनि मुख्यमन्त्रीले बताए। साथै, संघीय सरकार मातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने योजना रहेको उल्लेख गरे।
मुख्यमन्त्रीले समाजलाई सुधार गर्ने र मनोवैज्ञानिक रूपमा टुटेका व्यक्तिहरूलाई सहयोग गर्ने उपायबारे पनि चिन्तन गर्न सबैमा आग्रह गरे।



