हेटौँडा । मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ। यो कार्यक्रम इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा, पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत सञ्चालन हुनेछ।
कार्यक्रम अन्तर्गत गाउँपालिकामा ५२ प्रकारका महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गर्ने व्यवस्था हुनेछ। शुक्रबार कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यक्रम सञ्चालन सम्बन्धी जानकारी पत्र हस्तान्तरण गरेका छन्। उनले कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन र अन्य सहयोग गर्न गाउँपालिकासँग अनुरोध समेत गरेका छन्।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो प्रणाली लागु हुनेछ भने बागमती प्रदेशका आठ स्थानीय तह यसमा समेटिएका छन्।
प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टेलिजेन्स भोलन्टियर टिम गठन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक र जनप्रतिनिधिसहितको टिमलाई तालिम दिई रोग निरीक्षणमा संलग्न गराइनेछ।



