काठमाडौं । अन्तरिम सरकार गठन भएको एक दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी थिइन्। तर मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य जेन-जीबीचको मतभेदकै कारण अड्किएको हो ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार चाँडै हुने भनिए पनि ठ्याक्कै कहिले हुन्छ भन्ने टुंगो लागेको छैन। ‘दुई–चार दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने तयारी भइरहेको छ,’ स्रोतले भने।
आइतबार दिनभर मन्त्रिपरिषद् विस्तार हुने चर्चा भए पनि राष्ट्रपति कार्यालयसम्म खबर पुगेन। केही जेन-जी नेताले सपथ हुने दाबी गरे पनि साँझसम्म कुनै कार्यक्रम भएन। ‘हामीलाई मन्त्रीहरूको शपथबारे जानकारी आएको थिएन,’ राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले भनिन्, ‘शुक्रबार प्रधानमन्त्रीको शपथबारे जानकारी आएको थियो। तर आइतबारसम्म केही जानकारी भएन।’
जेन-जीबीच भागबन्डा नमिलेको कारण मन्त्रिपरिषद् विस्तार अड्किएको हो। रिपोर्टर्स क्लबमा आइतबार दुई समूहबीच हात हालाहालसम्मको विवाद भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंदेखि काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङसम्म आफ्ना मान्छे समावेश गराउन दबाब दिइरहेका छन्।
तर सबैलाई समेट्ने ठाउँ सीमित भएकाले विवाद झन् चर्किएको छ। जेन-जीका अनिल बानियाँ भन्छन्, ‘हामीले एक्सपर्ट मान्छेहरू पठाउने तयारी गरिरहेका छौँ। तर सचिवालय भने पुरानो ढर्रामा बनाइँदैन।’
स्रोतका अनुसार विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने पक्का भएको छ। तर अन्य नाममा विवाद कायमै छ। केही नाम सार्वजनिक भए पनि ‘राजनीतिक गन्ध’ आउने भन्दै फेरि छलफलमा लगिएको छ।
प्रधानमन्त्री कार्कीले भने सिंहदरबारमा पदभार ग्रहण गर्दै युवाले नेतृत्व गरेको आन्दोलनको भावना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने अठोट व्यक्त गरेकी छन्। तर कहिलेसम्म विस्तार हुन्छ भन्नेबारे उनले स्पष्ट पारिन्।
संविधानविद्हरूले पनि कार्कीलाई अहिलेको परिस्थितिमा मन्त्रिपरिषद् विस्तार ठूलो चुनौती भएको बताइरहेका छन्। विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीले जनताको भावना बिर्सनु हुँदैन। युवाको आशा–अपेक्षा पुरा गर्ने गरी मन्त्रिपरिषद् बनाउनु पर्छ।’



