हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ। सोमबार सम्पन्न फाइनलमा किङकमले फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधिसहित नगद १ लाख ५० हजार ५५५ रुपैयाँ हात पारेको हो।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा फ्रिडम फाइटरका कृष्ण मालाकारले १४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, २७औं मिनेटमा किङकम भेट्रान्सका जगातमान लामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। निर्धारित समयमा १-१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो, जहाँ किङकमले ३-२ गोल अन्तरले जित निकाल्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। किङकम भेट्रान्सका राजकुमार पन्त सर्वश्रेष्ठ प्रशिक्षक, सरोज थापा उत्कृष्ट फरवार्ड, अमित प्रधान उत्कृष्ट गोलकिपर, सञ्जय राना मगर उत्कृष्ट डिफेन्स घोषित भए। फ्रिडम फाइटरका उदय बहादुर गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाइटरका तेन्जिङ लामा बने, जसले नगद १० हजारसहित ट्रफी प्राप्त गरे।
समापन समारोहमा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथि रहेको थियो। उनले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै खेलकुद स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताईन् ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो, जसमा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फा केन्द्रीय सदस्य टिका लामा, विभिन्न वडाका अध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी लगायत अन्य व्यक्तित्वहरू सहभागी थिए।
प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका थियो भने सह-प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो। साथै, विभिन्न संघसंस्था, समाजसेवी र फुटबल प्रेमीहरूको सहयोग रहेको हेटौँडा भेट्रान्स क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए ।