धर्म/संस्कृतिआज नागपञ्चमी, यस्तो छ नागसम्बन्धी वैदिक प्रसङ्ग

आज नागपञ्चमी, यस्तो छ नागसम्बन्धी वैदिक प्रसङ्ग

सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान गरिन्छ। यस मान्यताको मूल खोज्दै जाँदा वेद, पुराण, स्मृति, इतिहास, धर्मशास्त्र, सङ्गीत, कला, साहित्य लगायत हरेक ठाउँमा विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ। ती सबैको उल्लेख यहाँ सम्भव छैन।

ती सबै छुट्टाछुट्टै अध्ययनका विषय हुन सक्छन्। यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ।

नागशब्दका अर्थ धेरै छन्, पाणिनीय व्याकरणमा नागशब्द तीन तरिकाबाट सिद्ध गरिन्छ।

  • नगे भव नागः। न हिँड्ने स्थावरलाई नग भनिन्छ। नग भनेको पर्वत हो। त्यहाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ। तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सीसा जस्ता धातुलाई पनि बताउँदो रहेछ।
  • न गच्छति यति अगः। न अगः नागः। यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ।
  •  दहति अस्मात् विषाग्निना इति नागः। अर्थात् जसले विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ। यस व्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ। त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ। विशेष अर्थ गर्दा प्राण आदि विभिन्न अर्थ पनि निस्किन्छ।
  •  नागशब्दका वाच्यार्थमा सर्प, हात्ती, मेघ, नागकेसर, पुन्नाग (चिलौनी), नागदन्तिका, मुस्तक, प्राणवायु, क्रूरआकार, देशविशेष, ताम्बूल, नक्षत्र, बङ्ग, सीसक, करण आदि प्रसिद्ध छन्।
  • नाग शब्दको अर्थ सर्प मान्दा सर्पका पर्याय नागका पनि पर्याय हुन जान्छन्। अमरकोषमा सर्प शब्दका पर्यायहरू यसरी बताइएका छन्। सर्प, पृदाकु, भुजग, भुजङ्ग, अहि, भुजङ्ग, आशीविष, विषधर, चक्री, व्याल, सरीसृप, कुण्डली, गूढपात्, चक्षुश्श्रवा, काकोदर, फणी, दर्वीकर, दीर्घपृष्ठ, दन्दशूक, विलेशय, उरग, पन्नग, भोगी, जिह्मग, पवनाशन, लेलिहान, द्विरसन, गोकर्ण, कञ्चुकी, कुम्भीनस, फणधर, हरि, भोगधर आदि। यस्तै शेष, अनन्त, वासुकी, सर्पराज, तक्षक आदि शब्दको विशेष प्रयोग पाइन्छ। गोनस, अलगर्द, जलव्याल पानी सर्पहुन् भने राजिल र डुण्डुभ दुइमुखे सर्प हुन्। संस्कृतसाहित्यमा सर्पका नाम र भेदहरू सैकडौँ पाइन्छन्। जसको छुट्टै अध्ययन हुन सक्छ।

नागको उत्पत्ति
पौराणिक मान्यताअनुसार जगत्स्रष्टा ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन्। कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता, दितिबाट दैत्य, विनताबाट गरुडसमेतका पक्षिगण, कद्रूबाट नागसमेतका सर्पहरू जन्मिए। ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए। यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए। मदोन्मत्त भएका नाग प्रजातिको उन्माद बढ्दै जाँदा यिनीहरूले मनुष्यलाई जथाभावी डस्न थाले।

त्यसपछि मनुष्यहरूको अनुरोधमा ब्रह्माजीले सर्पहरूलाई शापित गरी नियन्त्रणमा लिनुभयो र वितल, सुतल, पातालमा सीमित हुने बनाउनुभयो। आमा कद्रू र विनताको विवादका क्रममा असत्यको पक्ष लिएकाले काद्रवेय सर्पहरूले विनतापुत्र गरुडसँग हार्नुपरेको थियो भन्ने पनि पौराणिक अख्यान पाइन्छ।

नागको स्वरूप र भेद
सामान्यतया नाग आठ प्रकारका हुन्छन् भन्ने मानिन्छ। जस्तै:- अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख। यो प्रसिद्धि पनि छ-

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः।।
शिवजीको आभूषण र विष्णुको शय्या
वासुकि नागलाई शिवको आभूषण वा जनै पनि मानिन्छ। विष्णुको शय्या शेषनाग हुन्।

पृथिवीको आधार शेषनागलाई मानिन्छ। शेषको स्तुति गर्दा आफ्नो शिरमा पृथिवीलाई सर्स्यूँ बराबर हलुङ्गो मानेर बहन गर्ने भनिएको छ। घरको शिलान्यास गर्दा होस् वा इनारको लागि भूमिको पूजन गर्दा होस् नागको पूजा गर्ने विधि छ।

पुराणमा नाग
कम्बल र अश्वतर नागले सरस्वतीबाट गानविद्यामा निपुण हुने वर प्राप्त गरेका थिए (मार्कण्डेय पुराण)। पृथुले गाईरूप पृथिवीको दोहन गर्दा तक्षक नाग बाच्छो बनेको थियो। राजा परीक्षित्‌लाई डस्नका लागि कश्यपको सहारा लिएर अगाडि आउने तक्षक नै थियो। पछि जनमेजयले आयोजना गरेको सर्पयज्ञबाट सुरक्षित हुन इन्द्रको शरणमा पुगेको थियो। जम्बूद्वीपअन्तर्गत भारतवर्षको नौ खण्डमध्ये एउटा खण्डलाई नागखण्ड वा नागद्वीप पनि भनिन्छ।

वरुणको अस्त्रलाई नागपाशको संज्ञा दिइएको छ। रामायणमा मेघनादसँग भएको अस्त्रलाई नागपाश भनिएको छ। यसै नागपाशद्वारा मेघनादले लक्ष्मणलाई मूर्च्छित बनाएको थियो। जसबाट बचाउन सुषेणको परामर्शमा सञ्जीवनी औषधि खोज्न गएका हनुमान्‌ले औषधि नचिनेर हिमालय पर्वत नै लिएर आएका थिए।

नागकी मातालाई नागमाता भनिन्छ। कतिपय ग्रन्थमा नागमातालाई सुरसाको संज्ञा दिइएको छ, जो रामायणमा हनुमान्‌को लङ्कागमनका प्रसङ्गमा सुरसासँग भेट भएको प्रसङ्गसमेत जोडिन जान्छ। श्रीकृष्णको बाललीलाका प्रसङ्गमा कृष्णले कालीय नागलाई नियन्त्रण गरेको र नागकन्यासँग कुराकानी गरेको प्रसङ्ग कृष्णचरित्रमा जोडिएको छ। त्यसबेला भगवान् कृष्णले शेषनागको अवतार भएकोले सजातीयसँग स्नेह हुने आशङ्काका कारण बलरामलाई साथ नलगेको प्रसङ्ग पनि स्मरणीय छ।

गृहनिर्माण गर्दा नागदेवताको पूजा हुन्छ। शिलान्यासभन्दा पहिले खातारम्भ गर्दा नागको शिर र पुच्छरको अवस्थिति हेर्नुपर्ने र त्यसको पृष्ठभागमा मात्र उत्खनन गर्नुपर्ने वास्तुशास्त्रीय विधान छ।

नागकेशर प्रसिद्ध औषधि हो। नागवल्ली पानलाई भनिन्छ। भित्तोमा ठोकिने किलोलाई नागदन्तिका भनिन्छ। भिक्षुकहरूले मागेको भिक्षा नागदन्तिकामा झुन्ड्याउँछन्। अश्लेषा नक्षत्रलाई नागदैवत पनि भनिन्छ। त्यस्तै ज्योतिषमा नाग करण पनि छ।

नागसम्बन्धी वैदिक प्रसङ्ग
वैदिक वाङ्मय व्यापक र रहस्यपूर्ण छ। सहजरूपमा अर्थ थाहा पाउन पनि कठिन छ। सामान्य दृष्टिले हेर्दा पनि वेदमा सर्प अहि नाग आदिको व्यापक चर्चा पाइन्छ। वेदमा सर्प र नागलाई नमस्कार पनि गरिन्छ भने अहिलाई अलि डर लाग्दो विषालु मानेर नष्ट गर्ने कुरा हुन्छ। आहन्ति इति अहिः। अहि भुइँमा लुटपुट गर्ने प्राणी हो। वेदमा क इ पन्थां विसर्पति? प्रश्नको उत्तर दिँदै अहिः पन्थां विसर्पति (शु.य. २३/५६) भनिएको छ। अहि शब्दले सर्पलाई मात्र नभएर मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने सरिसृप कीटाणुलाई सङ्केत गरिएको हुनुपर्छ। त्यसैले रुद्रीमा अहीँश्च सर्वान् जम्भयन् (शु.य. १६/५) मा रुद्रदेवसँग सबै प्रकारका अहिलाई नष्ट गर्न भनियो तर सर्पलाई नमन गर्न भनिएका यजुर्वेदका यी मन्त्र पढ्दा सर्पको व्यापकता पनि देखिन्छ।

दुवैको मध्यबिन्दु सुषुम्णा हो। सुषुम्णा नाडी सामान्यतया निष्क्रिय हुन्छ। यसको मूल कुण्डलिनी हो। त्यो सर्पाकार हुन्छ। योगीहरूले योग साधनाद्वारा कुण्डलिनी जगाउँछन्। सिद्धि प्राप्त गर्छन्। यो प्राणविद्या हो। गोरखनाथले यसलाई हंसविद्या पनि भने। हंस सोहं यो प्राणको गतिसँग सम्बद्ध मन्त्र हो। सामान्यतया प्रतिदिन २१६०० पटक श्वास फेरिँदोरहेछ। बुझ्नेले यसैलाई विचार गर्दा यो मन्त्र हुँदो रहेछ। यसको जप गरिँदो रहेछ। नजपिकन जप। यो अजपाको जप।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img