काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबलिगलई बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । प्रहरीले ती किशोरी र सन्दीप बसेको होटलको सिसिटिभी फुटेजमाथि अनुसन्धान थालेको हो ।
लामिछाने र पीडित किशोरी काठमाडौं-९ सिनामंगलस्थित होटलमा करिब सात घन्टा बसेको खुलेको छ । प्रहरीले उनीहरू बसेको होटलको सिसिटिभी फुटेज हेर्दा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार किशोरी सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्समा थिइन् ।
घटना भएको दिन अर्थात् भदौ ५ गते राति सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। उनीहरु बिहान ६ बजेर ४६ मिनेटमा होटलबाट फर्किएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन् । त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ ।



