देशकोशी प्रदेशसमस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

कोशी | नेपालका थुप्रै पहिचानहरूमध्ये भोजपुरे खुकुरी विशेष स्थानमा छ। यसको निर्मल धार, मजबुत बनावट, र कलात्मक डिजाइनले नेपाली सेनादेखि गोर्खाली इतिहाससम्म गहिरो प्रभाव पार्दै आएको छ। भोजपुरमा बनेका खुकुरीहरू सैनिक, ऐतिहासिक, तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्। तर पछिल्लो समय यो परम्परागत व्यवसाय संकटमा पर्दै गएको छ। दक्ष कालिगडको अभाव, कच्चापदार्थको कमी, र युवा विदेशिने प्रवृत्तिले भोजपुरे खुकुरीको अस्तित्वलाई नै चुनौती दिने अवस्था आएको छ।

नेपालका पूर्वी पहाडी जिल्लाहरूमा भोजपुर खुकुरी व्यवसायको केन्द्र मानिन्छ। सन् १९६५ तिर व्यवस्थित रूपमा भोजपुरमा खुकुरी निर्माण सुरु भएको बताइन्छ। विसं २०२७ मा तत्कालीन राजा महेन्द्र भोजपुर भ्रमणमा आउँदा स्थानीय सिंगबहादुर विकले उनलाई उपहारस्वरूप भोजपुरे खुकुरी दिएका थिए। त्यसयता यसको ख्याति झन् फैलिएको थियो। यहाँ सिरुपाते, बाँसपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनेजस्ता खुकुरीहरू बनाइन्छन्। भोजपुरमा बनेका खुकुरीहरू धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुन्छन्।

तर खुकुरी बनाउने परम्परागत सीप राख्ने नयाँ पुस्ता घट्दै गएको छ। स्थानीय आरन उद्योगहरूमा पहिले जति चहलपहल छैन। पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन युवाहरू इच्छुक छैनन्। पहिलेको पुस्ताले जस्तै पसिना बगाएर लोहार पेसा अपनाउने चाहना नयाँ पुस्तामा देखिन्न। आरन व्यवसायमा संलग्न घनश्याम विश्वकर्मा भन्छन्, “अहिलेका युवाहरू विदेश जान चाहन्छन्। आरन चलाउने काममा भविष्य देख्दैनन्।” यही कारण भोजपुरमा खुकुरी बनाउने परम्परागत सीप संकटमा परेको छ।

खुकुरी बनाउने मुख्य समस्या भनेको कच्चापदार्थको अभाव हो। पहिले स्थानीय रूपमा फलाम, कोइला, र विशेष काठ सहज रूपमा उपलब्ध थियो। तर अहिले यी वस्तुहरू महँगो हुँदै गएका छन्। सरकारले जंगल कटानमा कडाइ गरेपछि काठ पाउन गाह्रो भएको छ। फलामका लागि पहिले स्थानीय खानीहरू प्रयोग गरिन्थ्यो, तर अहिले त्यसको सम्भावना छैन। कोइला उत्पादन पनि घटेकाले यसको मूल्य वृद्धि भएको छ। निर्माण सामग्री महँगो हुँदा उत्पादन लागत पनि बढेको छ। स्थानीय खुकुरी व्यवसायी नवीन दर्जी भन्छन्, “पहिलेका आरनहरूमा सजिलै कच्चापदार्थ पाइन्थ्यो, तर अहिले धेरै पैसा तिरेर किन्नुपर्छ।”

बजारमा माग उच्च भए पनि उत्पादन घट्दो अवस्थामा छ। भोजपुरे खुकुरीको लोकप्रियता अहिलेसम्म कायम छ, विशेषगरी ब्रिटिश गोर्खा सेना, भारतीय गोर्खा सेना, र अन्य विदेशी संग्राहकहरूले यसको उच्च माग गर्छन्। तर पर्याप्त उत्पादन हुन नसक्दा आपूर्ति कम हुँदै गएको छ। अहिले स्थानीय बजारमा एक गोटा खुकुरीको मूल्य ८ सय  रुपैयाँदेखि १८ सय रुपैयाँसम्म पर्छ। हस्तनिर्मित, गुणस्तरीय खुकुरीहरूको मूल्य भने अझै महँगो छ ।

खुकुरी व्यवसायलाई जोगाउन सरकारी पहलको खाँचो छ। परम्परागत व्यवसाय संकटमा पर्नु भनेको नेपालको ऐतिहासिक पहिचान हराउनु हो। यदि सरकार र निजी क्षेत्रबीच समन्वय हुन सकेन भने भोजपुरे खुकुरी व्यवसाय सानो सिमित दायराभित्र मात्र सीमित हुनेछ। यसका लागि खुकुरी निर्माणमा आवश्यक सामग्रीको सहज आपूर्ति गरिनुपर्छ। कच्चापदार्थको अभाव हटाउन सरकारी नीति आवश्यक छ। स्थानीय कालिगडहरूलाई प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति उत्पादनका लागि सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ।

अन्तर्राष्ट्रिय बजारमा भोजपुरे खुकुरीको पहिचान जोगाउन ब्रान्डिङ आवश्यक छ। सरकारले सहुलियत कर्जा, अनुदान, र बजार प्रवर्द्धनमा ध्यान दिए मात्र यो व्यवसाय पुनर्जीवित हुन सक्छ। तर समयमै पहल नगरिए भोजपुरे खुकुरी केवल इतिहासको पानामा सीमित रहनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img