बागमती प्रदेशमकवानपुरस्वदेशमै उद्यमशीलताको सम्भावना छ: मन्त्री श्रेष्ठ

स्वदेशमै उद्यमशीलताको सम्भावना छ: मन्त्री श्रेष्ठ

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले स्वदेशमै स्वरोजगार र उद्यमशीलताको प्रशस्त सम्भावना रहेको बताएका छन्। मकवानपुरको राक्सिराङ–३ झिल्किनीमा आयोजित स्वदेशी हातेकागज उत्पादन तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले युवालाई देशमै सीप र व्यवसायिक अवसरमा संलग्न गराउन तालिम महत्वपूर्ण माध्यम हुने बताए।

उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरको आयोजनामा सुरु भएको ३० दिने तालिममा सहभागी युवाहरूले तालिमपछि घरमै बसेर १ लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने मन्त्री श्रेष्ठको भनाइ थियो। उनले भने, “यो तालिम देखावटी प्रमाणपत्रका लागि होइन, उद्यमशील युवा उत्पादन गर्ने कार्यथलो हो।”

तालिम उद्घाटन कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले तालिमपश्चात व्यवसाय थालनी गर्न चाहनेलाई पालिकाबाट सहुलियत ऋण, बैंक ब्याज अनुदान, बिमा र बजार व्यवस्थापनमा सहयोग उपलब्ध गराइने बताए। “बिना तालिम सञ्चालित उद्योगहरू प्रायः असफल हुने गरेका छन्,” अध्यक्ष मल्लले भने, “यसले तालिम, रोजगारी र उत्पादनलाई जोड्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा टेवा पुर्‍याउँछ।”

गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले चेपाङ बस्ती र अन्य जोखिममा परेका समुदायलाई लक्षित गरी वैकल्पिक आयआर्जनको माध्यमका रूपमा तालिम आयोजना गरिएको बताए। उनले भने, “अब लागू औषध खेतीको डर होइन, केरा खेती र कागज उत्पादनजस्ता वैकल्पिक उद्योगतर्फ मोडिनुपर्छ।”

वडा नं. ३ का अध्यक्ष उत्तम वाइवाले तालिमपछि व्यावसायिक योजनामा लाग्न चाहने युवालाई वडाबाट आवश्यक सहयोग गरिने बताए। केराको उत्पादनपछि बाँकी रहेको बोटबाट हातेकागज उत्पादन गर्न सकिने भएकाले तालिमको उद्देश्य लागू औषधको विकल्पका रूपमा नगदेबाली प्रवर्द्धन गर्नु रहेको अध्यक्ष वाइवाले बताए।

जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काले तालिम स्वरोजगार, सीप विकास र वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्न महत्त्वपूर्ण हुने बताए।

तालिम उद्घाटन कार्यक्रम डिमेगाका अध्यक्ष रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका लेखमान राउत, संचारकर्मी रामकुमार एलन, शिवकुमार काशी, उमेश राई, तथा डिमेगाकी सचिव मेनका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img