समाजसंसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थी निर्वाचन सम्पन्न

संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थी निर्वाचन सम्पन्न

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–२ स्थित संगमचोकमा रहेको ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थी प्रतिनिधिहरू चयन गर्न आयोजित निर्वाचन कार्यक्रम संसदीय निर्वाचनको झल्को दिनेगरी सम्पन्न भएको छ। विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेशकुमार कलवारका अनुसार सामाजिक शिक्षामा समेटिएको निर्वाचन प्रक्रियालाई व्यवहारमा उतार्ने उद्देश्यले विद्यालयले यस्तो अभ्यास गराएको हो।

यसअन्तर्गत विद्यार्थीहरूले आफैं उम्मेदवारी घोषणा गरे, मनोनयन दर्ता गरे, दावी विरोध, उम्मेदवारी फिर्ता, प्रचारप्रसारदेखि मौन अवधि सम्मको सम्पूर्ण प्रक्रिया अनुभव गरे। त्यसपछि आइतबार सम्पन्न निर्वाचनमा कक्षा ६ देखि १० सम्मका २८५ विद्यार्थीले चार वटा छुट्टाछुट्टै मतदान केन्द्रमा गएर मतदान गरेका थिए।

नतिजा अनुसार छात्र क्याप्टेनमा कक्षा ९ का निमेश आचार्य १७९ मतसहित विजयी भए भने छात्रातर्फ जमुना ढुंगानाले १५३ मत प्राप्त गर्दै क्याप्टेन पदमा निर्वाचित भइन्। यस्तै, भाइस क्याप्टेनतर्फ कक्षा ८ का राजबिर बानियाँ र सुप्रिमा श्रेष्ठ क्रमशः १०६ र १६६ मतसहित विजयी भए। अन्य प्रतिस्पर्धीहरूले पनि उल्लेख्य मत प्राप्त गरेका थिए, जसले विद्यार्थीहरूबीचको प्रतिस्पर्धा कति रोमाञ्चक थियो भन्ने संकेत गर्छ।

यस निर्वाचनमार्फत विद्यालयमा रहेको रेड, ब्लु, यलो र ग्रिन हाउसका क्याप्टेन तथा भाइस क्याप्टेनहरू समेत चयन गरिएको छ। प्रत्येक हाउसमा छात्र र छात्रातर्फबाट पृथक प्रतिस्पर्धा गराइएको थियो। कतिपय पदहरूमा निर्विरोध विजयी हुने मौका पनि मिल्यो भने अन्य पदमा तीव्र प्रतिस्पर्धा देखियो।

निर्वाचन प्रक्रियालाई व्यवस्थित रूपमा सम्पन्न गराउन शिक्षकहरू भीम प्रधान, करुणा थापा, भाग्य श्रेष्ठ, रमेश थापा, सुमिना थापा, आशिष सुवेदी र अञ्जली प्रधानलगायतले आ–आफ्नो भूमिका निर्वाह गरेका थिए।

निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनहरूलाई विद्यालयका कार्यवाहक प्रिन्सिपल अनिरुद्ध धमला र सञ्चालक सञ्जय सुवेदीले औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए। निर्वाचन अधिकृत अनिता न्यौपानेका अनुसार, यस्तो अभ्यासले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासप्रतिको समझदारी मात्र बढाउने होइन, नेतृत्व विकासको अवसरसमेत दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img