काठमाडौं | काभ्रेको धुलिखेलमा विद्युत् पोलमा चढेर काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
जेठ ३ गते धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयअगाडि बिजुलीको पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश नेपालीको ११ हजार भोल्टको हाई–टेन्सन लाइनको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो।
उपेश सुदिपा निर्माण सेवा कम्पनीमार्फत पोलमा चढेका थिए। तर, प्राधिकरणले बिना समन्वय विद्युत् लाइन चार्ज गरेपछि दुर्घटना भएको मृतकका आफन्तको आरोप छ। अघिल्लो दिन विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सो लाइन चार्ज गरिने भन्दै सूचना जारी गरे पनि काम रोकिएन।
घटनापछि विद्युत प्राधिकरण र सुदिपा निर्माण सेवा तथा मृतकको परिवारबीच सहमति भएको छ। सहमतिअनुसार उपेशको परिवारलाई सात दिनभित्र १० लाख रुपैयाँ दिने, छोराछोरीको शिक्षामा सहयोग गर्ने, र श्रीमतीलाई रोजगारी उपलब्ध गराउने सहमति भएको हो।
यो एक्लो घटना भने होइन। यसअघि माघ २५ गते नवलपुरको गैंडाकोटमा पनि पोलमा चढेर काम गरिरहेका ३३ वर्षीय आर्यनसिंह ठकुरीको पनि करेन्ट लागेर मृत्यु भएको थियो।
त्यस्तै, वैशाख ८ गते ताप्लेजुङमा लत्रिएको तारमा जिप अल्झिँदा आगलागी भएको थियो। त्यस घटनामा ४ जनाको ज्यान गएको थियो।
नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा करिब १५ सय ७८ जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्। तीमध्ये १,१४७ जना पुरुष, २७४ महिला र १५७ बालबालिका छन्।
विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले आन्तरिक रुपमा सुधार गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। उनले भने, “छिटपुट घटना भएका होलान्, तर प्राधिकरणले काम गरिरहेको छ।”
प्रत्येक वर्ष औसतमा ३ सयभन्दा बढी नागरिक करेन्ट लागेर ज्यान गुमाइरहेका छन्। यो समस्याप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाउँदा यस्ता दुर्घटना दोहोरिरहेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।



