हेटौँडा | एसईई परीक्षा दिएर उच्च शिक्षामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि हेटौँडाका दुई फरक शैक्षिक संस्थानले विज्ञान र शिक्षाशास्त्र विषयमा निःशुल्क पढाइको अवसर उपलब्ध गराउने भएका छन् । हेटौँडा–१६ चिसापानीस्थित जनप्रिय प्राविधिक शिक्षालयले विज्ञान संकायमा पूर्ण छात्रवृत्ति दिने योजना ल्याएको छ भने, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस (एचएसएमएसएस)ले नवोदय इन्नोभेसन सेन्टरको सहकार्यमा शिक्षाशास्त्रमा निःशुल्क अध्ययनपछि रोजगारी ग्यारेन्टीसहितको कार्यक्रम सुरु गरेको छ।
यी योजनाहरू विशेषगरी विपन्न, ग्रामीण पृष्ठभूमिका र विज्ञान वा शिक्षाशास्त्रमा करियर बनाउने लक्ष्य राखेका विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको विद्यालयहरूको भनाइ छ।
जनप्रिय प्राविधिक शिक्षालयले आर्थिक अवस्था कमजोर तर विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्राथमिकता दिँदै आगामी शैक्षिक सत्र २०८१/८२ मा कक्षा ११ मा विज्ञान संकायमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ। विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंका अनुसार, विद्यार्थीहरूले प्रयोगशाला, पुस्तकालय र अतिरिक्त गतिविधि सहित गुणस्तरीय शिक्षाको अवसर निःशुल्क पाउनेछन्।
“हामी हेटौँडाबाटै विज्ञान क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले अघि बढिरहेका छौँ,” प्रधानाध्यापक चौलागाईंले भने। विद्यालयले विद्यार्थीका लागि छात्रावासको व्यवस्था समेत गरेको छ, जसले टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउनेछ।
वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाले भने, “विज्ञान र गणितजस्ता क्षेत्रहरूमा दक्ष जनशक्तिको अभाव छ। आर्थिक समस्याका कारण विद्यार्थीले विज्ञान पढ्न नसक्ने अवस्था अन्त्य गर्न यो योजना उदाहरणीय हुनेछ। ”
भर्ना शुल्क मात्रै लाग्ने बिद्यालयले जानाएको छ । जनप्रिय माविले यसअघि नै शिक्षा, मानविकी, व्यवस्थापन, बालविज्ञान (कक्षा ९–१२) र प्राविधिक धारअन्तर्गत बालविज्ञान, पशुविज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता रोजगारीमुखी विषयहरू सञ्चालन गर्दै आएको छ।
शिक्षाशास्त्रमा रोजगारी ग्यारेन्टीसहितको ‘जब ग्यारेन्टी’ कार्यक्रम
त्यसैगरी, एचएसएमएसले नवोदय इन्नोभेसन सेन्टरको सहकार्यमा शिक्षाशास्त्र संकायमा कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गराउने कार्यक्रम सुरु गरेको छ। हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ।
पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरिएको हो।
म्यानेजमेन्टले बिज्ञाप्ती जारी गर्दै सीमित संख्यामा विद्यार्थी भर्ना गरी शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषयहरू पढाइने जानकारी दिएको छ। साथै, अध्ययनसँगै विद्यार्थीलाई शिक्षण अभ्यास गर्ने अवसरसमेत प्रदान गरिनेछ जसले व्यवहारिक दक्षता र शिक्षण क्षेत्रमा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
२०५२ सालमा स्थापना भएको हेटौँडा स्कूल अफ म्यानेजमेन्टले हाल कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकायमा पठनपाठन गर्दै आएको छ। साथै स्नातक तहमा बीआइएम, बीसीए र बीबीएस विषयहरूमा समेत शिक्षा प्रदान गर्दै आएको छ।
अघिल्लो समय मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थीको आकर्षण कम भएका कारण ती विषय हटाइएका थिए भने अहिले दक्ष शिक्षक अभावको कारण शिक्षाशास्त्र संकायमा निशुल्क पठनपाठनको अवसर प्रदान गर्न लागिएको हो।



