काठमाडौं | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल सरकारले ऊर्जा क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न दृढतापूर्वक काम गरिरहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभामा बुधबार बोल्दै उनले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिरहेको जानकारी दिए।
मन्त्री खड्काका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार ट्रान्समिसन लाइन पुगेका क्षेत्रमा तत्काल विद्युत उत्पादन गर्न पावर खरीद सम्झौता (पिपिए) भइरहेको छ। उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि समन्वय भइरहेको उनले बताए।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै मन्त्रीले भने, “सरकार एक्लैले लगानी गर्न सक्दैन, निजी क्षेत्रको साझेदारी अपरिहार्य छ। सुरक्षित लगानी वातावरण बनाउन सरकार तयार छ।”
कार्यक्रममा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारले विद्युत खरिद सम्झौता समयमा नगरेको र ‘लाइसेन्स कब्जा प्रवृत्ति’ रोक्न नसकेको भन्दै आलोचना गरेका थिए।
त्यसको जवाफमा मन्त्री खड्काले भने, “माओवादीले १२ वर्ष ऊर्जा मन्त्रालय सम्हाल्दा के भयो? अहिले रोकिएका काम अघि बढेका छन्।”
उनले सरकारमा हुँदा र सरकारबाहिर हुँदा फरक फरक कुरा गरेर विकासमा बाधा नपुर्याउन पनि आग्रह गरे। “राष्ट्रको समृद्धिका लागि सबैले अपनत्व लिनुपर्छ,” उनले जोड दिए।
मुलुकको समृद्धिका लागि ऊर्जा क्षेत्रमा पूँजी निर्माण र गति दिनुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री खड्काले साना र मझौला जलविद्युत आयोजना, सौर्य ऊर्जा र मिक्स्ड इनर्जीमा पनि लगानीको वातावरण बनाउन सरकार गम्भीर रहेको बताए।
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्दै मुलुकलाई समृद्ध बनाउन सरकारले समयअनुसार कानुन संशोधन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।



