हेटौँडा | मकवानपुरगढी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ६ डुम्रेकुनामा सार्ने प्रस्ताव मंगलबारको गाउँसभाबाट अस्वीकृत भएको छ। लामो समयदेखी स्थानीय तहमा चलिरहेको बहस र तयारीको बीच अन्तिम निर्णय लिने दिन आफ्नै वडाका चार सदस्य अनुपस्थित हुँदा दुई-तिहाइ मत पुग्न नसक्दा प्रस्ताव असफल भएको हो।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष दीपेश दाहालले इन्फो नेपालसँग भने, “६ नम्बरमै केन्द्र सार्ने प्रस्ताव थियो। दुई-तिहाइ पुग्ने आँकलनमा पेस गरिएको थियो। तर वडा नं. ६ कै ४ जना प्रतिनिधि अनुपस्थित हुँदा प्रस्ताव पारित हुन सकेन।”
वडा नं. ६ का ४ जानै एमालेबाट निर्वाचित सदस्य हुन् ।
केन्द्र किन सार्ने प्रस्ताव आयो?
मकवानपुरगढी गाउँपालिकाले हालसम्म आफ्नै स्थायी प्रशासनिक भवन बनाउन सकेको छैन। अस्थायी कार्यालयबाट सेवा दिनुपर्दा स्थानीयका लागि सहज नभएको गुनासो बढ्दै आएको छ। भूगोलको हिसाबले सबै वडाको केन्द्रविन्दु पर्ने, पर्याप्त जग्गा उपलब्ध हुने र पहुँचको हिसाबले दीर्घकालीन रूपमा उपयुक्त हुने दाबी गर्दै केन्द्र वडा नं. ६ दुर्मेकुनामा सार्ने प्रस्ताव आएको हो।
२०८० असार २५ गते वडा नं. ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाई, सदस्यहरु शेरबहादुर पाख्रिन, जितबहादुर घलान, रनकुमारी परियार र भीममाया तितुङसहितका वडास्तरीय जनप्रतिनिधिले हस्ताक्षर गरेर कार्यपालिकामा प्रस्ताव दर्ता गरेका थिए। पछिल्लोपटक भने यहि असार १२ गते वडा नं. ७ का अध्यक्ष सूर्यबहादुर रुम्बाले वडा नम्बर ८ का अध्यक्ष कुमार सि. घिसिङको समर्थनमा कार्यपालिकामा केन्द्र स्थानान्तरण प्रस्ताव दर्ता गरेका थिए।
सुरुआतमा साथ, अन्त्यमा बिथोलियो
वडा नं. ६ का अध्यक्ष बजगाईंका अनुसार वडा बैठकमै निर्णय गरेर प्रस्तावमा हस्ताक्षर गरेका आफ्नै सदस्यहरू अन्तिममा आएर अनुपस्थित भएपछि योजना भत्किएको हो। “हामीले निर्णय गरेर हस्ताक्षर गरेका थियौं। तर अन्तिम घडीमा आफ्नै वडाका सदस्यहरु उपस्थित हुनुभएन,” उनले भने।
उनका अनुसार डुम्रेकुना भूगोल र पहुँचको हिसाबले सबै वडाका लागि सहज हुने ठाउँ हो। “त्यहाँ भवन बनाउने जग्गा पनि छ। सबैलाई सजिलो हुने सोचेर प्रस्ताव ल्याइएको थियो,” बजगाईंले बताए।
किन फेल भयो प्रस्ताव?
गाउँपालिकाको ४२ सदस्यीय गाउँसभामा कांग्रेसका २५, एमालेका १५ र माओवादीका २ जना सदस्य छन्। केन्द्र सार्न स्थानीय सरकार सञ्चालन ऐनअनुसार दुई-तिहाइ बहुमत चाहिन्छ।
गाउँसभामा कांग्रेसका सबै सदस्य र वडा नं. ६का ४ जना एमाले सदस्यको समर्थन पाउने आँकलन गरिएको थियो। तर मंगलबारको गाउँसभामा वडा नं. ६का चारै जना एमाले प्रतिनिधिहरू अनुपस्थित भए। त्यसले दुई-तिहाइ मत नपुगेर प्रस्ताव अस्वीकृत भएको हो ।
सदस्यहरुको तर्क
वडा नं. ६ की सदस्य भीममाया तितुङले अहिलेको केन्द्र नै उपयुक्त रहेको तर्क गरिन्। उनले भनिन्, “डुम्रेकुनाबाट गाउँपालिकाको बाटो टाढा छैन। त्यहाँ पुग्न जनतालाई सहजे छ । अहिलेको स्थानमै कार्यालय रहनु उचित छ। अहिले नै सार्नुपर्ने अवस्था छैन।”
अर्का वडा सदस्य जितबहादुर घलानले पनि केन्द्र स्थानान्तरणको प्रस्तावलाई आवश्यक नभएको बताए। “जुनसुकै प्रस्ताव आयो भन्दैमा अन्धाधुन्ध समर्थन गर्न सकिँदैन। केन्द्र सार्नु अहिलेको प्राथमिकता होइन,” उनले भने।
यस्तै, वडा सदस्य शेरबहादुर पाख्रिनले केही समय अघि सम्पन्न भएको अस्पताल भावनामा प्रशासनिक केन्द्र सार्ने प्रस्ताव आफैंमा गलत भएको जिकिर गरे। “३ नम्बर वडाकै आसपासमा केन्द्र रहनु पर्छ। अहिलेसम्मको स्थान नै ठीक छ,” उनले बताए। उनले आफ्नो पार्टीले कुनै हालतमा पनि केन्द्र स्थानान्तरणको प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारे।
यता प्रस्तावक वडा नम्बर ७ का अध्यक्ष सूर्यबहादुर रुम्बाले भने अस्पतालको भवन बनेको तीन–चार वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएकाले त्यसलाई केही समय प्रशासनिक कामका लागि प्रयोग गर्नसकिन्छ भनेर प्रस्ताव आफूले अघि सारेको स्पष्ट पारे। “मैले अस्पतालमै कार्यालय हुनुपर्छ भनेको छैन । अस्पताल सञ्चालनमा विकल्प हुनसक्छ भनेको हूँ । अस्पताल भनेको स्वास्थ्य सेवाका लागि हो, त्यसलाई चाँडै सञ्चालनमा ल्याउनुपर्छ भन्ने मेरो पनि धारणा हो,” उनले भने।
उनका अनुसार अहिलेको प्रशासनिक भवन उपयुक्त स्थानमा छैन। “भौगोलिक रूपमा अहिलेको भवन गाउँपालिकाको क्षेत्रमै छैन। हेटौँडाको वनको जग्गामा बसेको छ। मैले ल्याएको प्रस्ताव कुनै स्वार्थका लागि होइन, जनताको पहुँचमा पाउने गरी सेवा दिन सहज होस् भन्ने सोचले ल्याएको हो,” उनले थपे।
अब के हुन्छ?
गाउँपालिकाका प्रवक्ता दाहालका अनुसार केन्द्र सार्ने प्रयास तत्काल रोकिएको छैन। उनले भने, “आगामी हिउँदे अधिवेशनमा थप तयारी र स्पष्ट योजनासहित फेरि प्रस्ताव ल्याउनेछौँ। यो सबैका लागि आवश्यक र दीर्घकालीन हितको विषय हो।”
हाल गाउँपालिकाको प्रशासनिक भवन अस्थायी रूपमा सञ्चालनमा रहेको छ। स्थानीयबासी भने स्थायी र सुविधा सम्पन्न भवन बनाउने काम अब ढिलिनहुने माग गर्दै आएका छन्।
के भन्छन् स्थानीय ?
स्थानीयहरूले भने केन्द्र ६ नम्बरमै सार्नुपर्नेमा जोड दिएका छन्।
वडा नं. ५ का स्थानीय हिरामणि दाहालले गाउँसभामा पेस भएको प्रस्ताव सकारात्मक भएको बताए। “हामीलाई नजिकको हिसाबले पनि सहज हुन्छ। भौगोलिक हिसाबले पनि वडा नं. ६ उपयुक्त छ,” उनले टिप्पणी गरे।
यस्तै, वडा नं. ६ का अर्का स्थानीय बासुदेव चौलागाईंले सबै वडाका बासिन्दा सहजै पुग्नसक्ने भएकाले केन्द्र डुम्रेकुनामै सार्नुपर्ने बताए। “अहिले सामाजिक सुरक्षा भत्ता लिन जाँदा वृद्धवृद्धा कति दुःख पाइरहेका छन् भन्ने हामीले देखेका छौं। त्यसैले प्रशासनिक भवन डुर्मेकुनामै भए धेरै सहज हुन्छ,” उनले भने।
त्यस्तै, स्थानीय नाराबहादुर स्याङ्तानले पनि केन्द्र डुम्रेकुनामै सार्नुपर्ने पुरानै माग भएको उल्लेख गर्दै भने, “वडा र भूगोल दुवै हिसाबले डुर्मेकुना उपयुक्त छ। पहिलेदेखि नै हाम्रो माग त्यही हो। ”
ऐन के छ?
गाउँपालिका वा नगरपालिकाले आफ्नो प्रशासनिक केन्द्र परिवर्तन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्पष्ट प्रक्रिया तोकेको छ। उक्त ऐनको धारा ६ अनुसार कुनै गाउँपालिकाले केन्द्र परिवर्तन गर्न चाहेमा सो प्रस्ताव गाउँसभाबाट दुई-तिहाइ बहुमतले पारित हुनुपर्छ। त्यसपछि मात्र उक्त प्रस्तावलाई प्रदेश सरकारमार्फत संघीय सरकारमा सिफारिस गर्न सकिन्छ। अन्तिम निर्णय भने संघीय सरकारले संघीय कानुन बमोजिम गर्ने व्यवस्था ऐनले गरेको छ। मकवानपुरगढी गाउँपालिकाको सन्दर्भमा गाउँसभा स्तरमै दुई-तिहाइ मत प्राप्त नभएकाले केन्द्र सार्ने प्रस्ताव अस्वीकृत हुनु सोही ऐन र संविधानको दायरा भित्रको स्वाभाविक प्रक्रिया हो।
स्थायी प्रशासनिक केन्द्रको विवादसँगै मकवानपुरगढी गाउँपालिकामा अहिले पनि विकासका योजनाहरू दलगत असहमति र गुटबन्दीको घेरामा अड्किरहेका छन्। केन्द्र सार्ने विषयले फेरि अर्को अधिवेशनसम्मका लागि लम्बिएको छ। स्थानीयले भने केन्द्र चयन गर्दा भौगोलिक पहुँच, दीर्घकालीन सुविधा र सबैको सहमतिको ख्याल गर्न माग गर्दै आएका छन्। अन्ततः यो विषय गाउँपालिकाको राजनीतिक इच्छाशक्ति र नागरिकका प्राथमिकतालाई कत्तिको सुन्ने हो भन्नेमा निर्भर रहने देखिन्छ।



