समाजपिप्लेपोखरा सामुदायिक वनको ३०औं स्थापना दिवस, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

पिप्लेपोखरा सामुदायिक वनको ३०औं स्थापना दिवस, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

हेटौँडा | पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–५ ले आफ्नो ३०औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ।

बुधबार आयोजित समारोह समूहका अध्यक्ष रामहरि चौलागाईंको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक प्रमुख अतिथि थिइन्। उनले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गरेकी हुन्।

सोही अवसरमा डिभिजन वन कार्यालय मकवानपुर र समुहको लगानीमा निर्माण भएको नयाँ सभा हलको पनि पाठककै हातबाट उद्घाटन गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बराल, वडा नम्बर ५ का वडाध्यक्ष सुसिल घिमिरे, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशी लगायत सरोकारवालाहरूको उपस्थिति थियो।

स्थापना दिवसका अवसरमा समूहले शैक्षिक, सामाजिक र सेवा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ। २०८१ सालको एसईई परीक्षामा ४ जीपीए ल्याएकी बालज्योति माध्यमिक विद्यालयकी अस्मिता घिमिरेलाई नगदसहित सम्मान गरेको हो । त्यसैगरी लक्ष्मी, बालज्योति र ज्वालादेवी स्कूलका १२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए।

वनमा लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ। ३५ वर्षदेखि वन हेरालुका रूपमा कार्यरत होमनाथ गौतम र कार्यालय सहयोगी सोमबहादुर राई सम्मानित भएका छन्।

कार्यक्रममा ‘ठेकी बनाउने काष्ठ हस्तकला तालिम’का १४ जना सहभागी र १ जना प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिम गत जेठ २४ देखि असार २७ गतेसम्म सञ्चालन भएको थियो।

समूहले ३० वर्षदेखि वन संरक्षण, सामुदायिक विकास र वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउँदै आएको छ। कार्यक्रममा सहभागीहरूले सामुदायिक वनले सामाजिक उत्तरदायित्व र दिगो विकासमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img