मनोरञ्जनतीज गीत हिट भएपछि चर्चामा ‘कोशे ढुङ्गा’, भाद्र १२ देखि प्रदर्शनमा
spot_img

तीज गीत हिट भएपछि चर्चामा ‘कोशे ढुङ्गा’, भाद्र १२ देखि प्रदर्शनमा

हेटौँडा | भाद्र १२ गतेदेखि नेपालसहित करिब ४० देशमा एकसाथ प्रदर्शनमा आउने फिल्म ‘कोशे ढुङ्गा’ प्रदर्शनअघि नै व्यापक चर्चा कमाउन सफल भएको छ। महिला प्रधान कथावस्तुमा आधारित यो फिल्मलाई ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर दिएको निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्। यही कारण दर्शकबीच यसप्रति अपेक्षा अझ उच्च बनेको छ।

फिल्मको तीज गीत ‘नत्र भने जिन्दगी ब्यर्थ छ’ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हिट बनेको छ। खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वरमा रहेको उक्त गीतलाई खेम सेन्चुरीले संगीत दिएका हुन् भने नेत्र अर्यालले शब्द लेखेका हुन्। यो गीत टिकटकमा मात्रै १ लाख ४० हजारभन्दा बढी भिडियोमा प्रयोग भइसकेको छ भने ११७ मिलियन पटक हेरिएको निर्देशक पौडेलले जानकारी दिएका छन्। त्यस्तै अर्को गीत ‘भंगेरा भगेरी’ ले पनि दर्शकको मन जितिरहेको छ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका चर्चित कलाकारसँगै चितवनका मञ्जिल कुमारले डेब्यू गरेका छन्। निर्देशक पौडेलका अनुसार मञ्जिलले सुरक्षा पन्तसँग जोडी बाँधेर प्रभावशाली अभिनय गरेका छन्। नाटकमार्फत अभिनयमा अभ्यास गरिसकेकाले उनको अभिनयमा थप निखार आएको बताइन्छ।

स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको यो फिल्मलाई प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशिष अविरल तथा रिदम कँडेलको संगीतले कथावस्तुलाई थप सशक्त बनाएको छ।

निर्माण टिमको विश्वास छ, भाद्र महिनामा रिलिज हुने अन्य फिल्मबीच ‘कोशे ढुङ्गा’ले बलियो टिम, आकर्षक गीत र नयाँ–पुराना कलाकारको उत्कृष्ट संयोजनका आधारमा दर्शकमाझ छुट्टै पहिचान बनाउन सफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img