हेटौँडा | हेटौँडेली गीतकार श्यामकुमार बानियाँको नयाँ म्युजिक भिडियो ‘दोबाटोमा कुर्दा कुर्दै आज पनि साँझ पर्यो’ सार्वजनिक गरिएको छ। शुक्रबार हेटौंडामा विशेष कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक कार्यक्रममा संगीतकार लाल श्रेष्ठले स्थानीय कलाकारहरूको सिर्जनालाई प्राथमिकता दिँदै प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले कला, संगीत र संस्कृति कुनै समाजको पहिचान भएकाले यसलाई माया र संरक्षण गर्नुपर्ने बताए।
गीतमा श्यामकुमार बानियाँको शब्द, विष्णु अधिकारीको स्वर र संगीत रहेको छ। भिडियोमा अञ्जु मुक्तान र विजयकृष्ण श्रेष्ठको अभिनय देख्न सकिन्छ भने निर्देशन छेगुन लामाले गरेका हुन्। ओपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको छायाङ्कन र सम्पादन महेन्द्र ओझाले गरेका छन्। भिडियो हेटौंडा आसपासका विभिन्न स्थानमा खिचिएको छ र युट्युबमार्फत पनि हेर्न सकिन्छ।
बानियाँको यो दशौँ गीत हो। तीन वर्षको अवधिमा उनले दशवटा गीत लेखेका छन्, जसमा तीनवटा राष्ट्रिय गान, एउटा लोक–पप र एउटा आधुनिक गीत समावेश छन्। त्यसमध्ये चारवटा गीत उनले आफैं स्वर दिएको छन्।



