हेटौँडा | रेडियो थाहा संचार हेटौंडाले हरेक वर्षझैँ यसपालि पनि नेपाली नारीहरूको पर्व हरितालिका तीजको अवसरमा ‘थाहा नारी रत्न सम्मान’ तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ। शुक्रबार हेटौंडामा विशेष कार्यक्रममार्फत सो कार्यक्रम सम्पन्न गरिएको हो।
रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले स्वागत मन्तव्य दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रम रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि रहेका थिए। नगर प्रमुख लामाले रेडियो थाहा संचारले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरू प्रशंसनीय रहेको भन्दै निरन्तरताप्रति खुशी व्यक्त गरे।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा मकवानपुरगढीकी सामाजिक व्यक्तित्व सुलोचना स्याङ्तानलाई वर्ष २०८२ को ‘थाहा नारी रत्न सम्मान’ प्रदान गरिएको छ।
कार्यक्रमको समापन गर्दै प्रबन्ध निर्देशक अरुणराज सुमार्गीले रेडियो थाहा संचारले समाजका विभिन्न धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सक्रिय रहने प्रतिबद्धता जनाए।



