देशबागमती प्रदेशकाठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म प्रदर्शन, सभा र जुलुस निषेध

काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म प्रदर्शन, सभा र जुलुस निषेध

काठमाडौं | राजधानीका पाँच क्षेत्रमा अब दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई विरोध प्रदर्शन, सभा, धर्ना वा जुलुस गर्न नपाइने भएको छ। शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार यस्तो आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशअनुसार, कात्तिक १ गतेदेखि लागू हुने गरी मंसिर मसान्तसम्म यी क्षेत्रहरूमा कुनै पनि प्रकारका विरोध कार्यक्रम, सभा, जुलुस वा धर्ना गर्न निषेध गरिएको छ।

आदेशमा भनिएको छ पछिल्ला दिनहरूमा विरोध प्रदर्शनका क्रममा उत्पन्न हुने भिड, तोडफोड, आगजनी, हुलदंगा र अशान्तिका घटनाले शान्ति, सुरक्षा र सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याउने खतरा देखिएकोले यस्तो निर्णय लिनु परेको हो। प्रशासनले जनताको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारलाई सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा कार्यक्रम गर्न सकिने तर संवेदनशील क्षेत्रहरूमा सामूहिक प्रदर्शन नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधित क्षेत्रहरूमा शीतल निवास (राष्ट्रपतिको कार्यालय) वरपरको क्षेत्र, हरित गृह (उपप्रधानमन्त्री कार्यालय) आसपासको क्षेत्र, नारायणहिटी दरबार संग्रहालयको दक्षिणी भाग, सिंहदरबार परिसर तथा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र समावेश छन्। यी क्षेत्रहरूमा पाँचजनाभन्दा बढी भेला भएर कार्यक्रम आयोजना गर्न, जुलुस वा र्‍याली गर्न, नारा लगाउन, विरोध जनाउन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

शीतल निवास क्षेत्र अन्तर्गत महाराजगञ्जमा रहेको प्रहरी प्रधान कार्यालय प्रवेशद्वारदेखि पूर्वतर्फ सामाखुशी मोडसम्मको १०० मिटर क्षेत्र, सामाखुशी खोलासम्मको दक्षिणी भाग निषेधित क्षेत्रका रूपमा तोकिएको छ। त्यसैगरी, हरित गृह अर्थात् उपप्रधानमन्त्री कार्यालय लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि मल्ल होटलसम्मको सीमाभित्र प्रदर्शन निषेध गरिएको छ।

नारायणहिटी दरबार क्षेत्रको दक्षिण गेटदेखि जयनेपाल हल र महेन्द्र सलिकसम्मको भागमा, सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिरदेखि सिंहदरबारको मूल गेट र दक्षिण गेट हुँदै भृकुटीमण्डपसम्मको क्षेत्रलाई पनि प्रशासनले संवेदनशील ठहर गर्दै प्रदर्शन निषेध गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्र पनि निषेधित सूचीमा परेको छ। बालुवाटार वर्कशप चोकदेखि नेपाल राष्ट्र बैंक, निजामती क्लब, हितालय चोक र भाटभटेनी तर्फको क्षेत्र, साथै राष्ट्रिय सभा अध्यक्षको निवास र गोहत्तर जाने सडकसम्मको क्षेत्र यसमा पर्छ।

आदेशमा प्रमुख जिल्ला अधिकारी पौडेलले भनेका छन्, “संविधानले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ, तर सार्वजनिक शान्ति र सुरक्षामा प्रतिकूल प्रभाव पर्ने सम्भावना देखिएमा प्रशासनले आवश्यक नियन्त्रणात्मक कदम चाल्न सक्छ।”

यदि कसैले आदेश उल्लंघन गरी निषेधित क्षेत्रमा विरोध प्रदर्शन वा सभा आयोजना गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। स्थानीय प्रशासन ऐनअनुसार, यस्तो कार्यलाई उल्लंघन मानेर प्रहरीले नियन्त्रणमा लिन, तितर–बितर गर्न वा कानुनी दायरामा ल्याउन सक्ने व्यवस्था छ।

यससँगै अब काठमाडौंका यी पाँच क्षेत्रहरूमा आगामी दुई महिनासम्म कुनै पनि प्रकारका राजनीतिक वा सामाजिक विरोध प्रदर्शन, धर्ना, जुलुस र सभा गर्न पूर्ण रूपमा रोक लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img