नैरोबी । केन्याको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजारभन्दा बढी दुर्लभ ‘क्वीन गार्डेन’ प्रजातिका कमिला तस्करी गर्न खोजेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
राजधानी नैरोबीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा झाङ केकुन नामका चिनियाँ नागरिकको साथबाट ठूलो परिमाणमा जीवित कमिला बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार चिनियाँ बजारमा लैजान लागिएका १ हजार ९४८ वटा कमिला विशेष टेस्ट ट्युबमा राखिएको अवस्थामा भेटिएका थिए भने करिब ३०० वटा कमिला टिस्यु पेपरमा लुकाएर प्याक गरिएको अवस्थामा फेला परेका थिए।
सरकारी वकिल एलेन मुलामाका अनुसार अनुसन्धानकर्ताहरूले झाङलाई केन्यामा सक्रिय कमिला तस्करी गर्ने गिरोहको मुख्य योजनाकारका रूपमा पहिचान गरेका छन्। गत वर्ष सोही गिरोहका अन्य सदस्य पक्राउ पर्दा झाङ भने अर्को राहदानी प्रयोग गरेर केन्याबाट भाग्न सफल भएका थिए।
अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिद्वारा संरक्षित यी कमिलाहरूको व्यापारमा कडा प्रतिबन्ध लगाइएको छ। विशेषगरी युरोप र एसियाका सङ्कलकहरूले यस्ता कमिलालाई घरपालुवा जनावरका रूपमा राख्ने भएकाले यसको माग बढ्दै गएको बताइएको छ।
केन्या वाइल्डलाइफ सर्भिस (केडब्लूएस)का अनुसार यी कमिलाहरू पारिस्थितिक प्रणालीका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। यिनको अभावले माटोको स्वास्थ्य, वनस्पति वृद्धि र जैविक विविधतामा गम्भीर असर पर्न सक्छ।
केन्याको अदालतले थप अनुसन्धानका लागि झाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि गत वर्ष मे महिनामा हजारौँ जीवित कमिला तस्करी गर्न खोज्ने दुई बेल्जियम नागरिक, एक भियतनामी र एक केन्याली नागरिकलाई अदालतले एक वर्ष जेल सजाय वा जरिवाना गर्ने फैसला सुनाएको थियो।



