हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्ला केही दिनयता वायु प्रदूषणको मात्रा उल्लेख्य रूपमा बढेको छ। शनिबार बिहान गरिएको मापनअनुसार हेटौँडाको वायु गुणस्तर सूचकांक (एक्युआई) १५३ पुगेको छ, जुन ‘अनहेल्दी’ अर्थात् स्वास्थ्यका लागि अस्वस्थकर तहमा पर्छ। यसको अर्थ, अहिले हेटौँडाको हावा सामान्य रूपमा सास फेर्न पनि सुरक्षित मानिने अवस्थामा छैन।
हावामा सबैभन्दा बढी देखिएको प्रदूषक ‘पी.एम २.५’ हो, जसको मात्रा ५८.८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ। ‘पी.एम २.५’ भनेको अत्यन्त सानो धुलो वा धुवाँका कण हुन्, जसलाई आँखाले देख्न सकिँदैन। यी कण कपालको रौँभन्दा धेरै गुणा साना हुन्छन् र सिधै नाक हुँदै फोक्सोभित्र पुगेर रगतसम्म मिसिन सक्छन्। विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित वार्षिक मापदण्डभन्दा यो ११.८ गुणा बढी रहेको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो हावा एक दिनभर सास फेर्नु भनेको झन्डै ७ देखि ८ वटा चुरोट तानेसरह हानिकारक हुन सक्छ। अर्थात्, चुरोट नखाने मानिसले पनि दिनभर यस्तो प्रदूषित हावा फेर्दा शरीरमा धूमपानजस्तै असर पर्न सक्छ। मानिसले दिनमा औसत २० देखि २५ हजार पटकसम्म सास फेर्ने भएकाले प्रदूषित हावाको असर निरन्तर शरीरभित्र पुगिरहन्छ।
यसको असर सबैभन्दा पहिले आँखा, नाक, घाँटी र फोक्सोमा देखिन थाल्छ। धेरै मानिसमा आँखा पोल्ने, घाँटी खसखस हुने, लगातार रुघाखोकी लाग्ने, छाती भारी हुने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, थकान, चिड्चिडापन र काममा ध्यान केन्द्रित गर्न समस्या देखिन सक्छ। दम, एलर्जी, फोक्सोको पुरानो रोग वा मुटुको समस्या भएका व्यक्तिका लागि यो झन् खतरनाक हुन्छ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू बढी जोखिममा पर्छन्। बालबालिकामा फोक्सोको विकासमा असर पर्न सक्छ भने गर्भवती महिलामा समयअगावै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने वा अन्य जटिलता देखिन सक्छ। दीर्घकालीन रूपमा हेर्दा उच्च रक्तचाप, हृदयाघात, स्ट्रोक, मधुमेह, फोक्सोको संक्रमण र क्यान्सरसम्मको जोखिम बढ्न सक्छ।
हेटौँडामा वायु प्रदूषण बढ्नुका मुख्य कारण धेरै छन्। विभिन्न जंगलमा लागेको डढेलोको धुवाँ, सवारीसाधनबाट निस्कने धुवाँ, उद्योगबाट निस्कने प्रदूषण र केही समयदेखी पानी नपर्नु प्रमुख कारण हुन्। हावा कम चल्दा र वर्षा नहुँदा यी धुलो–धुवाँका कण सतहमै थुप्रिएर बस्छन्, जसले प्रदूषण अझ बढाउँछ।
विशेषज्ञहरूका अनुसार अहिले बिहान र बेलुकाको समय अझ बढी संवेदनशील हुन्छ। यस्तो समयमा बाहिर दौडने, व्यायाम गर्ने वा लामो समय बस्ने काम कम गर्नुपर्छ। अत्यावश्यक बाहेक बाहिर ननिस्कन, राम्रो गुणस्तरको मास्क , झ्याल–ढोका बन्द राख्न, घरभित्र सफाइ कायम गर्न र पर्याप्त पानी पिउन सुझाव दिइएको छ।



