हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ । जेठ २६ गते हेटौँडास्थित हिमालयन दरबारमा हुने प्रथम प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि प्रदेश सभापतिका लागि हालसम्म करिब पाँच जनाले आकांक्षा देखाएका छन् ।
रास्वपा बागमती प्रदेशका प्रवक्ता उद्धव अर्यालका अनुसार नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास हुने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाट नेतृत्व टुंगो लगाइनेछ । उम्मेदवारी दर्तापछि मात्रै आधिकारिक उम्मेदवारहरूको टुंगो लाग्ने उनले बताए । “सर्वसम्मति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुन्छ,” अर्यालले भने ।
हालका प्रदेश सभापति तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. अच्युत्तम लामिछाने पुनः प्रदेश सभापतिको आकांक्षी देखिएका छन् । लामिछानेले आफ्नो अघिल्लो कार्यकालमा प्रदेशका वडा, पालिका र जिल्ला तहसम्म संगठन विस्तार भएको दाबी गर्दै अब संगठनलाई जनताको मुद्दा, सुशासन, विकास र समृद्धिको एजेन्डामा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
प्रवक्ता अर्याल पनि प्रदेश सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । उनले पार्टी संगठनलाई मूल्य, मान्यता र विधिमा स्थापित गर्दै आगामी २०८४ सालको निर्वाचनमा प्रभावकारी परिणाम ल्याउने गरी संगठन सुदृढीकरण, प्रशिक्षण र नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन् । बागमती प्रदेशका ११९ पालिका र ६६ प्रदेश निर्वाचन क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउने आफ्नो योजना रहेको उनले बताए ।
रास्वपाले प्रतिनिधिसभा सदस्यहरूलाई संसदीय भूमिकामा केन्द्रित हुन प्रदेश तहभन्दा तलका पदमा उम्मेदवारी नदिन आह्वान गरेको भए पनि उक्त निर्णय बाध्यकारी नभएको प्रवक्ता अर्यालले स्पष्ट पारेका छन् । यसले सांसदसमेत रहेका लामिछानेको उम्मेदवारी सम्भावना खुला रहेको देखिन्छ ।
अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब १४ देखि १५ सय प्रतिनिधि सहभागी हुने रास्वपा बागमती प्रदेश सभापति लामिछानेले जानकारी दिए । उनका अनुसार प्रदेशका जिल्ला, पालिका तथा वडा तहबाट छनोट भएका प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुनेछन् । प्रदेशका १३ वटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र प्रतिनिधिहरू हेटौँडा आउने क्रम सुरु भएको उनले बताए ।
लामिछानेका अनुसार बागमती प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११२ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको छ । पहिलो प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौँडामै आयोजना गर्दा पार्टीको विचार, सिद्धान्त र संगठनात्मक सन्देश जनस्तरसम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ ।
अधिवेशनमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिसहित केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने तयारी छ । रास्वपाले अधिवेशनलाई खर्चिलो र भड्किलो नबनाउने जनाएको छ । प्रतिनिधिहरूले जनही एक हजार पाँच सय रुपैयाँ प्रतिनिधि शुल्क बुझाउने व्यवस्था गरिएको र सोही रकमबाट अधिवेशन सञ्चालन गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार अधिवेशनमा सर्वसाधारणका लागि खुला सभा नरहे पनि पार्टीका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक गरी तीनदेखि चार हजार जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ । व्यवस्थापन तथा सुरक्षा तयारीका लागि प्रशासन र सुरक्षाकर्मीसँग समन्वय भइसकेको उनले बताए ।



