काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र पुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ कार्यक्रम दिउँसोका लागि तय भए पनि केही ढिलाइपछि सुरु भएको थियो ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । मन्त्रिमण्डल पुनर्गठनसँगै गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सम्हाल्ने भएका छन् ।
दुवै नेताको सरकारमा यो दोस्रो प्रवेश हो । गुरुङ यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । तर, उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यस्तै, महावीर पुन जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।
चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैँसँग राखेका छन् । पछिल्लो मन्त्रिमण्डल पुनर्गठनसँगै सरकारको आन्तरिक सुरक्षा, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राखिएको देखिएको छ ।
शपथपछि दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।



