हेटौँडा । हेटौँडा–८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र हेटौँडा–१ चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भई ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ गठन गरिएको छ। शनिबार आयोजित संयुक्त साधारणसभाले दुवै सहकारी एकीकरणको औपचारिक घोषणा गर्दै रामबहादुर बस्नेतको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो।
सर्वोत्तमका अध्यक्ष रामबहादुर बस्नेत र सुन्दर सहकारीका अध्यक्ष शम्भु नकर्मीको संयुक्त अध्यक्षतामा भएको साधारणसभामा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। एकीकरणपछि बनेको सहकारीमा सुन्दर सहकारीका करिब ८ सय र सर्वोत्तम सहकारीका ३ हजार १ सय शेयर सदस्य आबद्ध भएका छन्। सहकारी एकीकरणसँगै संस्थाको सेवा, पूँजी, सदस्य आधार र उत्पादनमुखी गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
साधारणसभामा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारीका अध्यक्ष बस्नेत र सुन्दर बचत तथा ऋण सहकारीका अध्यक्ष नकर्मीले आ–आफ्ना संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। बस्नेतले आर्थिक सुरक्षा, खाद्य सुरक्षा तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर सहकारीले लक्ष्य निर्धारण गरेको जानकारी दिए। कार्यक्रममा सुन्दर सहकारीका कोषाध्यक्ष दीपक देवकोटा र सर्वोत्तम सहकारीका व्यवस्थापक राजाराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले ‘सर्वोत्तम उद्योग समूह’ स्थापना गरी उत्पादन, प्रवर्द्धन तथा बजारीकरणका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। संयुक्त सभासँगै सहकारीले उत्पादन गरेका ५४ थरिका वस्तुको बिक्री प्रदर्शनीसमेत राखिएको थियो। सहकारीलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उत्पादन र बजारसँग जोड्ने प्रयासस्वरूप यस्तो प्रदर्शनी राखिएको संस्थाले जनाएको छ।
एकीकरणपछि गठन भएको सर्वोत्तम सुन्दर संचिती सहकारी संस्थाको उपाध्यक्षमा हरिमाया ढकाल, सचिवमा रामनाथ वगाले, कोषाध्यक्षमा रेनु गुरुङ र सहसचिवमा विश्वनाथ ढकाल चयन भएका छन्। सदस्यहरूमा ऋतु विष्ट, धनकुमारी राजथला, बुद्धिप्रसाद पौडेल र राजकुमार अधिकारी चयन भएका छन्। लेखा समिति संयोजकमा पशुपति रिजाल तथा सदस्यहरूमा मोनिका खड्का र सम्झना कार्की चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहकारीले सदस्यबीच एउटै परिवारको भावना विकास गर्ने बताइन्। उनले ‘सर्वोत्तम सुन्दर संचिती सहकारी’ नाम आफूले सुझाव दिएको उल्लेख गर्दै नाम उपयुक्त र आकर्षक रहेको धारणा व्यक्त गरिन्। सभामा हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौँडा–७ का वडाध्यक्ष दामोदर गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, कानुनी सल्लाहकार राधाकृष्ण मैनाली, सल्लाहकार रघुरमण न्यौपाने, पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतको आतिथ्यता रहेको थियो।



