हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको जिल्ला सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौँडामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले मनहरीका पाठकको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि जिल्ला सचिवको जिम्मेवारीमा रहेका पाठकलाई अधिवेशनले पाँच वर्षे कार्यकालका लागि सभापतिको जिम्मेवारी दिएको हो ।
अधिवेशनबाट उपसभापतिमा टकराज थापा ‘सुरेश’, सचिवमा विशभ अधिकारी र सहसचिवमा शान्ति थापा बिडारी चयन भएका छन् । सदस्यहरूमा सफल दुतराज, हलिया शेख, सम्झना पुडासैनी, सदिक्षा रेग्मी, पदम थिङ, हरिहर खतिवडा र देवकुमार अर्याल चयन भएका छन् ।
सहसचिव बिडारीका अनुसार अधिवेशनमा सबै पद सर्वसम्मत रूपमा टुंगिएको हो । उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा हरिहर खतिवडा र क्षेत्र नम्बर २ को सभापतिमा देवकुमार अर्याल चयन भएका छन् । खतिवडा र अर्याल जिल्ला समिति सदस्यमा समेत चयन भएका हुन् ।
मकवानपुरका १० वटै पालिकामा अधिवेशन सम्पन्न भएपछि रास्वपा मकवानपुरले जिल्ला अधिवेशन गरेको हो । अधिवेशनमा जिल्लाका सबै पालिकाबाट ४५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको पार्टीले जनाएको छ । कार्यवाहक जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य प्रकाश गौतमको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो ।
अधिवेशनमा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती प्रमुख अतिथि थिए । उद्घाटन समारोहमा रास्वपा केन्द्रीय र्याट विभाग प्रमुख वैकुण्ठ थापा ‘आशिष’ र केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारलगायतको आतिथ्य थियो ।
प्रमुख अतिथि उप्रेतीले मकवानपुर जिल्ला अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुनु पार्टी एकताबद्ध रहेको संकेत भएको बताए । देशका विभिन्न जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भइरहेका बेला मकवानपुरमा सहमतिमै कार्यसमिति चयन हुनु सकारात्मक अभ्यास भएको उनको भनाइ छ । उनले केन्द्रमा जस्तै जिल्लामा पनि समायोजन र सहकार्यको भावना अघि बढेको बताए ।
उप्रेतीले नयाँ जिल्ला कार्यसमितिको पहिलो जिम्मेवारी संगठन विस्तार र पार्टीलाई चलायमान बनाउनु रहेको बताए । जनताले अपेक्षा गरेर दिएको मतलाई सम्मान गर्दै जनताका मुद्दा उठाउने, स्थानीय समस्यासँग जोडिने र संगठनलाई सक्रिय बनाउने काममा नयाँ नेतृत्व केन्द्रित हुनुपर्ने उनले बताए । उनले नयाँ नेतृत्वले प्राप्त अवसरलाई सही रूपमा सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित सभापति पाठकले आफूलाई सर्वसम्मत रूपमा चयन गरिएको विषयलाई पार्टीका साथीहरूले दिएको जिम्मेवारीका रूपमा लिएको बताए । उनले पार्टीको विधि, विधान र संरचनाभित्र रहेर रास्वपा मकवानपुरलाई थप व्यवस्थित र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
पाठकले अधिवेशनमा अन्य आकांक्षीहरू रहे पनि सहमतिमार्फत नेतृत्व चयन गरिएको बताए । निर्वाचनमा जाँदा प्रतिस्पर्धाका कारण केही समय असमझदारी उत्पन्न हुन सक्ने भएकाले सहमतिको बाटो रोजिएको उनको भनाइ छ । नेतृत्वमा आउन चाहेका अन्य साथीहरूलाई पनि पार्टीका विभिन्न जिम्मेवारीमा समायोजन गरेर अघि बढ्ने सहमति भएको उनले बताए ।
उनले अबको पहिलो प्राथमिकता संगठन विस्तार हुने बताए । मकवानपुरका करिब ७० देखि ८० वटा वडामा पार्टीको संगठनात्मक गतिविधि अघि बढिसकेको भन्दै बाँकी वडामा पनि अधिवेशनपछि संगठन विस्तारको कामलाई तीव्रता दिइने उनले जानकारी दिए । आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्ष्यित गर्दै संगठनलाई वडा तहसम्म पुर्याउने योजना रहेको उनको भनाइ छ ।



