समाजजलेका कार्यालयबाट उठेको सेवा प्रवाह
spot_img

जलेका कार्यालयबाट उठेको सेवा प्रवाह

हेटौँडा | २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकामा ठूलो क्षति पुर्‍यायो। उपमहानगरपालिकाको आफ्नै कार्यालयसहित आधा दर्जनभन्दा बढी वडा कार्यालय, सवारी साधन, कम्प्युटर, फर्निचरदेखि कार्यालय सञ्चालनका सामग्रीसम्म नष्ट भए। घटना पुरानो भए पनि त्यसपछि वडाहरूले सीमित साधनस्रोतका बीच सेवा कसरी सुरु गरे भन्ने विषय अहिले पनि सम्झनलायक छ। नागरिकको दैनिक कामसँग जोडिएका वडा कार्यालय क्षतिग्रस्त हुँदा सेवा पूर्ण रूपमा रोकिने अवस्था देखिए पनि जनप्रतिनिधि र कर्मचारीले वैकल्पिक व्यवस्थाबाट काम अघि बढाएका थिए।

आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड रुपैयाँ बजेट रहेको हेटौँडा उपमहानगरपालिकामा आन्दोलनका क्रममा मात्रै ३२ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। उपमहानगरपालिकाले गठन गरेको क्षति मूल्याङ्कन समितिको प्रतिवेदनअनुसार सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले भदौ २७ देखि असोज २ गतेसम्म क्षति मूल्याङ्कन गरी प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनमा भौतिक पूर्वाधारतर्फ १६ करोड ४० लाख, सवारी साधनतर्फ ६ करोड ७३ लाख र कार्यालय सामग्रीतर्फ ९ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख थियो।

आगजनी र तोडफोडबाट ९ वटा साना गाडी, शवबाहन, २ वटा ट्र्याक्टर, १ ट्रिपर, १ जेसीबी, रोलर, ग्रास कटर र १९ वटा मोटरसाइकलमा क्षति पुगेको थियो। त्यसैगरी १०० भन्दा बढी कम्प्युटर, प्रिन्टर, फर्निचर र कार्यालय सञ्चालनका सामग्री नष्ट भएका थिए। उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको थियो। कार्यालयसँगै सेवा प्रवाहका लागि प्रयोग हुने साधनस्रोत नष्ट हुँदा तत्काल काम सुरु गर्न वडाहरूलाई समस्या भएको थियो।

वडा कार्यालयमध्ये सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा पुगेको थियो। हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये एक मात्र महिला वडाध्यक्षले नेतृत्व गरिरहेको यही वडाको कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भयो। वडा अध्यक्ष जुना दाहालका अनुसार भवन र सामग्री जले पनि सेवा धेरै दिन रोकिएन। “हाम्रो वडा कार्यालय पूर्ण रूपमा आगो बलेर ध्वस्त भएको छ। चार–पाँच दिनपछि हामीले सेवा प्रवाह सुरु गर्‍यौं,” उनले बताएकी थिइन्।

उनका अनुसार सुरुमा प्रतीक्षालयमै बसेर हातले लेखेर सेवा दिनुपरेको थियो। पछि शहरी स्वास्थ्य आधारभूत केन्द्रको माथिल्लो तलाको एउटा कोठाबाट सेवा सञ्चालन गरिएको थियो। “एउटै कोठामा छौं हामी। जनप्रतिनिधि, वडा सचिव, कर्मचारी र प्राविधिक सबै एकै ठाउँमा बसेर सेवा दिइरहेका छौं,” दाहालले बताएकी थिइन्। कार्यालय भवन, फर्निचर र सामग्री नहुँदा पनि नागरिकले लिन आउने सिफारिस, प्रमाणित, दर्ता तथा दैनिक प्रशासनिक काम रोक्न नसकिने भएकाले उपलब्ध ठाउँबाटै सेवा सुरु गरिएको उनको भनाइ थियो।

वडा कार्यालय जले पनि सेवाग्राही खाली हात फर्कन नपरोस् भन्ने सोचेर वैकल्पिक व्यवस्था गरिएको दाहालले बताएकी थिइन्। “आगो लगाउने व्यक्तिहरू पनि सेवा लिन आएका छन्। हामीले मन दुखी रहँदा पनि खुसी भएर सेवा दिइरहेका छौं,” उनले भनेकी थिइन्। वडा कार्यालय पूर्ण रूपमा जलेको अवस्थामा समेत केही दिनमै सेवा सुरु हुनु सजिलो काम थिएन। तर, सेवाग्राहीको आवश्यकतालाई हेरेर आफूहरूले दुःख बिर्सेर काम गर्नुपरेको उनको भनाइ थियो।

वडा नम्बर १० ले पनि क्षतिपछि छिट्टै सेवा सुचारु गरेको थियो। वडा १० का अध्यक्ष फुर्बा लामाले आफ्नो वडाले हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा पहिले सेवा सुचारु गरेको दाबी गरेका थिए। “हामी २६ गते आइपुग्यौं। २७ गतेदेखि वडालाई सरसफाइ गरेर सेवा प्रवाह गर्‍यौं,” उनले भनेका थिए। क्षतिग्रस्त संरचना सफा गरेर उपलब्ध सामग्रीबाटै सेवा दिन थालिएको उनले बताएका थिए।

लामाले भदौ २३ गते उठेका मागलाई स्वाभाविक रूपमा लिन सकिए पनि २४ गते भएको आगजनी र तोडफोडलाई आन्दोलनको नाममा भएको आपराधिक घटना भनेका थिए। “२४ गते जेन्जीकै मागको नाममा देशलाई विद्रोहमा लैजाने, देश जलाउने, नेताको घर जलाउने, कार्यालय जलाउने काम भयो। त्यो चाहिँ अपराधी मानसिकताबाट भएको हो,” उनले भनेका थिए। जनताको काम गर्ने वडा कार्यालय नै जल्दा त्यसको प्रत्यक्ष असर नागरिक सेवामै पर्ने उनको भनाइ थियो। वडा कार्यालय जनताको दैनिक कामसँग जोडिएको निकाय भएकाले त्यसमा क्षति पुर्‍याउँदा अन्ततः नागरिक नै मर्कामा पर्ने उनले बताएका थिए।

वडा नम्बर १ मा आगजनी नभए पनि आन्दोलनको असर सेवा प्रवाह र जनप्रतिनिधि–कर्मचारीको मानसिकतामा देखिएको थियो। हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा १ का अध्यक्ष सबिन न्यौपानेले सेवा प्रवाहमा ठूलो अवरोध नआए पनि मनोवैज्ञानिक असर परेको बताएका थिए। “सबै कर्मचारी र जनप्रतिनिधि साथीहरूमा एक किसिमको मनोवैज्ञानिक असर परेको छ,” उनले भनेका थिए।

उनका अनुसार आन्दोलनपछि सेवा लिन आउने सेवाग्राहीको संख्या पनि केही समय अत्यन्तै न्यून रहेको थियो। बजेट संशोधन र क्षतिपछि बनेको अवस्थाका कारण विकास निर्माणका केही काम र बिरामीलाई दिइने आर्थिक सहयोगजस्ता सेवामा पनि असर परेको उनले बताएका थिए। भौतिक क्षतिको असर कार्यालय भवनमा मात्र सीमित नरही नियमित योजना र नागरिक सेवासम्म पुगेको थियो। कार्यालय खुले पनि वातावरण सामान्य हुन समय लागेको उनको भनाइ थियो।

वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देलले पनि क्षतिपछि न्यूनतम साधनस्रोत जुटाएर सेवा सुचारु गरिएको बताएका थिए। उनका अनुसार कार्यालयका सामग्री जले पनि वडाले दिने आधारभूत सेवा रोकिएको थिएन। “वडाले दिनुपर्ने सेवाहरू सेवा प्रवाहको हिसाबले सम्पूर्ण रूपमा प्रवाह गर्न सफल भएका छौं,” उनले भनेका थिए।

तर, क्षतिले उपमहानगरपालिकाको आन्तरिक आम्दानी र विकास योजनामा असर पारेको सिग्देलको भनाइ थियो। पुनर्निर्माणका लागि बजेट छुट्याउनुपर्ने भएपछि योजनागत काम अघि बढाउन समस्या भएको उनले बताएका थिए। “अब मान्छेको दिमागमा जुलुस नभइदिए हुन्थ्यो भन्ने छ। फेरि जुलुस भयो भने के हुन्छ भन्ने आतंक छ,” उनले भनेका थिए। क्षतिपछि कार्यालय सञ्चालन मात्रै होइन, कर्मचारी र जनप्रतिनिधिलाई सामान्य अवस्थामा फर्काउन पनि समय लागेको उनको भनाइ थियो। नागरिक सेवा निरन्तर राख्ने प्रयाससँगै क्षतिग्रस्त संरचना पुनःव्यवस्थापनको चुनौती पनि वडाहरूमा देखिएको थियो।

वडा अध्यक्षहरूका अनुसार जेन्जी पुस्ताले व्यक्तिगत आक्रमण गर्ने योजना नबनाए पनि जेन्जीको नाममा आपराधिक समूह मिसिएर घटना हुनसक्ने डर देखिएको थियो। यसलाई ध्यानमा राख्दै टोल–टोलका क्लब, समूह र टोल विकास संस्थालाई सचेत गराइएको उनीहरूको भनाइ थियो। आन्दोलनपछि वडाहरूले सेवा मात्रै सुरु गरेनन्, समुदायस्तरमा फेरि यस्तो घटना नदोहोरियोस् भन्ने सन्देश पनि दिन खोजेका थिए।

हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये आधा दर्जनभन्दा बढी वडामा क्षति पुगे पनि क्षतिपछि छोटो समयमै वडाहरूले सेवा प्रवाह सुरु गरेका थिए। भवन, सवारी साधन र कार्यालय सामग्री जले पनि नागरिकले पाउने आधारभूत सेवा पूर्ण रूपमा रोकिएन। क्षतिपछि हेटौँडाका वडाहरूले देखाएको यही प्रयासले कठिन अवस्थामा पनि स्थानीय तहले नागरिक सेवा रोक्न नहुने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img