हेटौँडा । बागमती प्रदेश विश्वविद्यालयले पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सकिएको सात दिनमै सार्वजनिक गरेको छ । विश्वविद्यालयअन्तर्गत सञ्चालित बीआईटी, बी.एड. इन भोकेसनल एजुकेशन र बीबीए कार्यक्रमको पहिलो सेमेष्टरको नतिजा असार १६ गते सार्वजनिक गरिएको हो ।
विश्वविद्यालयले असार ९ गते परीक्षा सम्पन्न गरेको थियो । विश्वविद्यालयका उपाध्यक्ष कुसुमराज सुवेदीका अनुसार नयाँ विश्वविद्यालयका रूपमा पहिलो पटक नतिजा प्रकाशन गरिएको हो । उनले लामो तयारी र मेहनतपछि परीक्षा सकिएको सातौँ दिनमै नतिजा सार्वजनिक गर्न सफल भएको बताए ।
प्रकाशित नतिजाअनुसार बीआईटीतर्फ परीक्षामा सहभागी ६२ जना विद्यार्थीमध्ये ४९ जना उत्तीर्ण र १३ जना अनुत्तीर्ण भएका छन् । यस कार्यक्रमको उत्तीर्ण प्रतिशत ७९.०३ रहेको छ ।
यस्तै, बी.एड. इन भोकेसनल एजुकेशनतर्फ १६१ जना विद्यार्थी सहभागी भएकोमा १४४ जना उत्तीर्ण र १७ जना अनुत्तीर्ण भएका छन् । यस कार्यक्रममा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बीबीएतर्फ १२४ जना विद्यार्थीमध्ये ९० जना उत्तीर्ण भएका छन् भने ३४ जना अनुत्तीर्ण भएका छन् । यस कार्यक्रमको उत्तीर्ण प्रतिशत ७२.५८ रहेको छ ।
तीनवटै कार्यक्रममा गरी कुल ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २८३ जना उत्तीर्ण भएका छन् भने ६४ जना अनुत्तीर्ण भएका छन् । समग्रमा विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजामा ८१.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
उपाध्यक्ष सुवेदीले चार वर्षे स्नातक तहका कार्यक्रम चार वर्षमै पूरा गराउने लक्ष्यसहित परीक्षा र नतिजा प्रणालीलाई नियमित बनाइने बताए । उनका अनुसार निर्धारित समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई विश्वविद्यालयले प्राथमिकतामा राखेको छ ।
विश्वविद्यालयले बीबीए र बीआईटी अध्ययनमा विद्यार्थीलाई १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ । विश्वविद्यालयअन्तर्गत हेटौँडासहित चितवन र काठमाडौंका क्याम्पसमा कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाइएको छ भने कानुनतर्फ एलएलबी कार्यक्रम पनि अघि बढाइएको विश्वविद्यालयले जनाएको छ ।




