देशहेटौँडा कपडा उद्योग पुनः सञ्चालन भए सरकारी पोसाकमा आत्मनिर्भर बन्न सकिने

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन भए सरकारी पोसाकमा आत्मनिर्भर बन्न सकिने

पुराना सबै लुम स्वचालित बनाउन सकिने प्राविधिकको दाबी, आठ घण्टामै ७० मिटरसम्म कपडा उत्पादन

spot_img

हेटौँडा | साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना लुमलाई आधुनिक प्रविधिमा रूपान्तरण गरेर निजामती कर्मचारी तथा सुरक्षा निकायका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न सकिने प्राविधिकहरूले बताएका छन्।

उद्योगका पुराना लुमलाई स्वचालित प्रणालीमा रूपान्तरण गर्दा कम जनशक्तिबाट पहिलेको तुलनामा झन्डै तीन गुणा बढी कपडा उत्पादन गर्न सकिने देखिएको छ। परीक्षणका रूपमा स्वचालित बनाइएका लुमबाट आठ घण्टामा ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन भइरहेको छ।

प्राविधिक रमेशबहादुर भट्टराईका अनुसार स्वचालित बनाउनुअघि एउटा लुमबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा मात्रै उत्पादन हुन्थ्यो। पुराना पार्टपुर्जा परिवर्तन गरी स्वचालित प्रणाली जडान गरेपछि उत्पादन उल्लेख्य रूपमा बढेको उनले जानकारी दिए।

“पहिले आठ घण्टामा एउटा मेसिनबाट २० देखि २५ मिटरसम्म कपडा निस्किन्थ्यो, अहिले ६५ देखि ७० मिटरसम्म निस्किन्छ,” उनले भने।

उद्योगका सबै मेसिन क्रमशः सञ्चालनमा ल्याउन सके निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायत सरकारी निकायका लागि आवश्यक कपडा उत्पादन गर्न सकिने भट्टराईको भनाइ छ।

“सरकारले आँट गरेर सबै मेसिन सञ्चालन गर्ने हो भने निजामती कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालाई आवश्यक पर्ने कपडाको खाँचो हुँदैन,” उनले भने।

दाङको तुलसीपुरमा साडी उत्पादनसम्बन्धी काम गर्दै आएका भट्टराई उद्योगका मेसिन मर्मत तथा परिमार्जनका लागि हेटौँडा आएका हुन्। प्राविधिक राजप्रसाद अमात्यको आग्रहमा आएका उनीसहितको टोलीले सुरुमा तीन–चार दिन मेसिनको अवस्था अध्ययन गरेको थियो।

मेसिनको अवस्था हेरेर आवश्यक सुधार तथा प्रविधि परिवर्तनबारे छलफल गरेपछि टोलीले मर्मत र स्वचालित प्रणालीमा रूपान्तरण गर्ने काम थालेको थियो। लामो समय प्रयोगविहीन रहेका कारण मेसिनमा जडान गरिएका छाला र काठका सामग्री नष्ट भएका थिए। मुख्य फलामे संरचना भने अझै सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्राविधिकहरूले बताएका छन्।

“मेसिन बूढो कहिले पनि हुँदैन, मानिस बूढो हुन्छन्,” भट्टराईले भने, “मेसिनका पार्टपुर्जा बिग्रिन्छन्, ती फेर्न मिल्छन्। मुख्य मेसिनमा कुनै समस्या छैन।”

उनका अनुसार लुमलाई स्वचालित बनाउने क्रममा डबी, स्लेवार्ड, ब्रेक र क्लचलगायत विभिन्न उपकरण परिवर्तन गरिएको छ। पुरानो प्रविधिका केही पार्टपुर्जा पाउन कठिन भए पनि परिमार्जित प्रणालीका लागि आवश्यक सामग्री नेपालमै उपलब्ध छन्।

पुराना ‘सटल लुम’मा प्रयोग हुने मौलिक पार्टपुर्जा अहिले चीनमा समेत उत्पादन हुन छाडेको प्राविधिकहरूको भनाइ छ। तर पुराना लुमलाई नयाँ प्रविधिअनुसार परिमार्जन गरेर सञ्चालन गर्न सकिने उनीहरूले बताएका छन्।

उद्योग पुनः सञ्चालनमा प्राविधिक योगदान दिन काठमाडौँबाट आएका राजप्रसाद अमात्यले पुराना सटल लुमलाई र्‍यापियर प्रविधिमा रूपान्तरण गरी स्वचालित रूपमा चलाउन सकिने जानकारी दिए। त्यसो गर्दा पुरानो प्रविधिका दुर्लभ पार्टपुर्जामाथिको निर्भरता पनि घट्ने उनको भनाइ छ।

“सटल लुमको सामान पाउन केही गाह्रो छ, किनभने ती धेरै पुराना भइसके। चीनले पनि त्यस्ता मेसिन बनाउन छाडिसकेको छ,” अमात्यले भने, “र्‍यापियर प्रविधिमा रूपान्तरण गरेर स्वचालित बनाउने हो भने मजाले चल्छ।”

अमात्यका अनुसार उद्योगमा रहेका सबै लुमलाई स्वचालित प्रणालीमा रूपान्तरण गर्न सकिन्छ। स्वचालित लुम सञ्चालन गर्दा जनशक्ति कम लाग्ने र उत्पादन बढ्ने भएकाले सरकारलाई आर्थिक लाभ पुग्ने उनले बताए।

“यहाँका सबै मेसिनलाई स्वचालित बनाउन मिल्छ,” उनले भने, “स्वचालित बनाएर सञ्चालन गर्दा जनशक्ति कम लाग्छ, उत्पादन बढी हुन्छ र सरकारलाई फाइदा हुन्छ।”

आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आएका अमात्यले हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीसहित काम गरिरहेका छन्। लामो समयदेखि बन्द उद्योगभित्र प्रवेश गर्दा मेसिनको अवस्था देखेर आफू भावुक बनेको उनले सुनाए।

“हामी सुरुमा आउँदा मेसिन हेरेर आँखाबाट आँसु आयो,” उनले भने, “मरिसकेका जस्ता देखिएका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ।”

हाल उद्योगमा १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ। तीमध्ये तीनवटालाई स्वचालित प्रणालीमा रूपान्तरण गरिएको छ। अमात्यका अनुसार स्वचालित बनाइएका मेसिन पुरानै अवस्थामा सञ्चालन हुँदाभन्दा उन्नत भएका छन्।

एउटा लुमलाई स्वचालित बनाउन करिब दुई लाखदेखि पौने तीन लाख रुपैयाँसम्म खर्च लाग्ने भट्टराईले जानकारी दिए। प्रयोग गरिने उपकरण र गर्नुपर्ने परिमार्जनका आधारमा लागत फरक पर्न सक्ने उनको भनाइ छ।

स्वचालित प्रणालीका लागि आवश्यक उपकरण काठमाडौँमा उपलब्ध हुने प्राविधिकहरूले बताएका छन्। ललितपुरको लुबुलगायत स्थानमा रहेका आपूर्तिकर्ताले चीन र ताइवानबाट यस्ता उपकरण ल्याउने गरेको भट्टराईले जानकारी दिए।

उद्योगका लुमबाट पोसाक तथा सरकारी निकायलाई आवश्यक पर्ने विभिन्न प्रकारका कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको दाबी छ। तर कुन प्रकारको कपडा कति परिमाणमा उत्पादन गर्ने भन्ने विषय कच्चा पदार्थ, मेसिनको अवस्था र सरकारको उत्पादन योजनामा निर्भर रहनेछ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालनको तयारी अघि बढाउने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको जिम्मेवारी दिइएको हो। परीक्षण उत्पादनका लागि सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गराएको छ।

उद्योगमा अहिले नेपाली सेनाको उत्पादन निर्देशनालयका प्राविधिक तथा विभिन्न दर्जाका करिब ४० सैनिक खटिएका छन्। उनीहरूले उद्योग परिसरको सरसफाइ, विद्युत् व्यवस्थापन, मेसिन मर्मत र परीक्षण उत्पादनसम्बन्धी काम गरिरहेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत निरीक्षण गरी परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिएकी थिइन्। निरीक्षणपछि उनले २० वटा लुम सञ्चालनका लागि तयार पार्ने काम भएको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी दिइन्।

परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी रिलायन्स उद्योगबाट ल्याइएको मन्त्री यादवले बताइन्। स्वदेशमै आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कृषकलाई कपासखेतीमा लाग्न आग्रह गर्दै उनले कृषकले उत्पादन गरेको कपास खरिद गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको उल्लेख गरिन्।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते हेटौँडा कपडा उद्योग कम्पनीका रूपमा दर्ता भएको थियो। सोही वर्षको पुसमा उद्योगको शिलान्यास गरिएको थियो। विसं २०३५ कात्तिकदेखि परीक्षण उत्पादन थालेको उद्योगको विसं २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो।

पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले करिब एक हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो। राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, बारम्बारका बन्द–हडताल, पुरानो प्रविधि र निरन्तर आर्थिक घाटाका कारण उद्योग संकटमा पर्दै गएको थियो। उद्योग विसं २०५७ देखि पूर्ण रूपमा बन्द छ।

परीक्षण उत्पादन सुरु भएसँगै उद्योग पुनः सञ्चालन हुने सम्भावना देखिए पनि नियमित सञ्चालनका लागि स्पष्ट व्यावसायिक योजना आवश्यक छ। कच्चा पदार्थको नियमित उपलब्धता, उत्पादन लागत, कपडाको गुणस्तर, बजार सुनिश्चितता, प्रविधि, जनशक्ति र दिगो व्यवस्थापनबारे सरकारले ठोस निर्णय गर्नुपर्ने देखिन्छ।

प्राविधिकहरूले भने पुराना मेसिन नै उद्योग पुनः सञ्चालनको प्रमुख अवरोध नभएको बताएका छन्। आवश्यक पार्टपुर्जा परिवर्तन र प्रविधि परिमार्जन गरेर उत्पादन बढाउन सकिने उनीहरूको निष्कर्ष छ। अब परीक्षणका रूपमा कपडा निकाल्ने कामलाई नियमित र व्यावसायिक उत्पादनमा बदल्न सरकारले कस्तो सञ्चालन ढाँचा अपनाउँछ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img