हेटौँडा | आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाको समन्वय तथा मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार हेटौँडामा भएको करसम्बन्धी छलफल कार्यक्रममा उहाँले उद्योग तथा वाणिज्य क्षेत्रबिना कुनै पनि मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।
“नीतिगत परिमार्जन लेखेर मात्रै हुँदैन, निजी क्षेत्रबाट प्राप्त सुझाव र पृष्ठपोषण पनि उत्तिकै आवश्यक हुन्छ”, महानिर्देशक भुसालले भन्नुभयो, “यहाँ उठाइएका सबै विषयलाई महत्वका साथ सम्बोधन गरिने छ ।”
मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले करसम्बन्धी समस्या समाधान तथा कर प्रशासनलाई व्यवसायीमैत्री बनाउन यस्ता छलफल उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीलगायतले यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायका विषयमा केन्द्रित रही सुझावसहितको धारणा राख्नुभएको थियो ।




