काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्ने निर्णयलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश निर्वाचनसम्बन्धी काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो।
यसअघि असोज १४ गते अदालतले निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालत नियमावली, २०७३ अनुसार उक्त आदेशलाई निरन्तरता दिइएको अदालतले जनाएको छ।
अदालतको यो आदेशसँगै असोज २० गतेका लागि तय गरिएको राप्रपा बागमती प्रदेश कार्यसमितिको निर्वाचन रोकिएको छ। उद्धव थापा लगायतले राप्रपा काठमाडौँ जिल्ला निर्वाचन समितिको कार्यालयलाई विपक्षी बनाउँदै प्रदेश अधिवेशनको प्रक्रिया रोक्न माग गरेर रिट दायर गरेका थिए।
विपक्षी राप्रपा केन्द्रीय कार्यालयका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको अर्को रिट निवेदन हाल अन्तरिम आदेशका लागि छलफलकै क्रममा छ। सर्वोच्च अदालतबाट त्यसबारे सुनुवाइ भएपछि मात्र पुनर्विचार गर्ने गरी हाललाई प्रदेश निर्वाचन रोक्ने आदेश यथावत् राखिएको उच्च अदालतले जनाएको छ।



