ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मुकुमलुङमा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा छ हजार सात सय एकजना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको छ ।
माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।
गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ ।
बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादशैँपछि चैतेदसैँ रामनवमीका समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन्। यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।



